त्रिवेणी कपको ३३ औं संस्करण पुस १२ देखि

आयोजक त्रिवेणी युवा क्लव बेंसीसहरले शुक्रबार बेंसीसहरमा पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गर्दै फुटबल प्रतियोगिताबारे जानकारी गराएको हो ।

पुस ४, २०८२

आश गुरुङ

The 33rd edition of the Triveni Cup will begin on December 12.

What you should know

लमजुङ — लमजुङ सदरमुकाम बेंसीसहरमा त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औं संस्करण पुस १२ देखि हुने भएको छ ।

आयोजक त्रिवेणी युवा क्लव बेंसीसहरले शुक्रबार बेंसीसहरमा पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गर्दै फुटबल प्रतियोगिताबारे जानकारी गराएको हो । बेंसीसहरको सहजीस्थित खेलमैदानमा हुने प्रतियोगितामा ट्रफी, मेडल र प्रमाणपत्रसहित विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल किपरले जनही २५/२५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रत्येक खेलका म्याद अफ दि म्याचलाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । 

आयोजक क्लबका अध्यक्ष टेकजंग गुरुङले प्रतियोगितामा यसवर्ष १६ टीमको सहभागिता रहने बताए । यसमध्ये काठमाडौंस्थित चित्लाङ फुटबल क्लब, न्यूरोड फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, विभागीय टीम एपीएफ, सातदोबाटो फुटबल क्लब र टोखा भगवती फुटबल क्लब आमन्त्रित रहनेछन् । आमन्त्रित टीम व्यवस्थापनका लागि १७ लाख रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ ।

आयोजक त्रिवेणी, लमजुङ मर्स्याङ्दी युवा क्लब बेंसीसहर, बुद्ध युथ क्लब भोटेओडार, लाङ्दीदेवी युवा क्लब नाल्मा, लालीगुराँस युवा क्लब भुजुङ, ठडाराई अधिकारी समाज दिहीथोक, सूर्यपुर फुटबल क्लब चितवन, चक्रपथ युथ क्लब काठमाडौं, रड्स रामपुर फुटबल क्लब रामपुर चितवन र समाज कल्याण युवा क्लब काठमाडौंले खेल्नेछन् ।

प्रतियोगितामा गतवर्ष सेमीफाइनलमा पराजित २ टीमलाई २/२ लाख रुपैयाँ दिँदै आएकोमा यसवर्षदेखि उक्त व्यवस्था हटाइएको छ । त्रिवेणी साँझसमेत गरी प्रतियोगिता सञ्चालनका लागि १ करोड ३२ लाख ३५ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

त्रिवेणी साँझ संयोजक क्लबका पूर्वअध्यक्ष विनोद गुरुङले गुरुङ जातिको सांस्कृतिक पर्व तमू ल्होछार (१५ पुस) का दिन आयोजना गरिने त्रिवेणी साँझमा मात्रै १२ लाख रुपैयाँ खर्च हुने बताए ।

क्लबका सचिव अच्युत पौडेलले फुटबल टीमसँगको सम्पर्क, खेलमैदान मर्मतसम्भार, आर्थिक व्यवस्थापनलगायतको तयारी अन्तिम चरणमा पुगेको बताए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully