३१औं अन्तर मावि आईजीपी फुटबलको उपाधि पुलिस स्कुल साँगालाई

शुक्रबार सम्पन्न फाइनल खेलमा साँगाले सैनिक आवासीय माध्यमिक विद्यालय भक्तपुरलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हासिल गरेको हो ।

पुस ४, २०८२

ज्योती श्रेष्ठ

Police School Sanga wins 31st Inter-Mavi IGP Football Championship

What you should know

काभ्रे — नेपाल पुलिस स्कुल साँगामा सञ्चालित ३१औँ अन्तर माध्यमिक विद्यालय आईजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको उपाधि आयोजक नेपाल पुलिस स्कुल साँगाले जितेको छ ।

शुक्रबार सम्पन्न फाइनल खेलमा साँगाले सैनिक आवासीय माध्यमिक विद्यालय, भक्तपुरलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हासिल गरेको हो ।

नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा आयोजित समापन समारोहमा प्रतियोगिताको औपचारिक समापन गरिएको थियो । प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगा प्रथम, सैनिक आवासीय माध्यमिक विद्यालय भक्तपुर द्वितीय र पिस पोइन्ट बोर्डिङ स्कुल तृतीय भएका छन् ।

व्यक्तिगत विधातर्फ नेपाल पुलिस स्कुल साँगाका मनिष बन्राईट सर्वोत्कृष्ट खेलाडी घोषित भए भने समिर थापा सर्वोत्कृष्ट गोलकिपर बने । सैनिक आवासीय माध्यमिक विद्यालय भक्तपुरका नीरज अधिकारी उदयमान खेलाडी घोषित भए । फेयर प्ले टिमको उपाधि बिकेटेश्वर स्कुलले पाएको छ भने उत्कृष्ट मार्चपास नेपाल एपीएफ स्कुल, कीर्तिपुर घोषित भयो । फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ नेपाल पुलिस स्कुलका रोनी वीरविक्रम शाह बने ।

विजेता टिमले ६० हजार, उपविजेताले ४० हजार र तृतीय हुने टिमले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

समापन समारोहमा प्रहरी महानिरीक्षक कार्कीले विजयी खेलाडी तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र टिमलाई ट्रफी, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । यसका साथै, म्याच रेफ्री र अफिसियलहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो।

सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले तीन दशकभन्दा लामो इतिहास बोकेको यस प्रतियोगिताले विद्यालयस्तरको फुटबल विकास, नयाँ प्रतिभाको पहिचान तथा विद्यार्थीमा आत्मविश्वास, अनुशासन, सहकार्य र नेतृत्व विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए । अध्ययनसँगै खेलकुद र सिर्जनशील गतिविधिबाट विद्यार्थीको सर्वाङ्गीण व्यक्तित्व विकास आवश्यक रहेको उनको भनाइ थियो ।

मंसिर १७ गतेदेखि सुरु भएको प्रतियोगितामा काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका १४ विद्यालयका १५ टिमको सहभागिता रहेको थियो । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully