नेपाली मूल एथलेटिक मो ओ (सनी मगर) ले थाइल्यान्डमा सम्पन्न ३३ औं एसईए खेलकुदमा ९ औं स्थान प्राप्त गरेपछि थाई नेपाली संघले सम्मान गरेको हो ।
बैंकक — थाइल्यान्डमा सम्पन्न ३३ औं एसईए खेलकुदमा म्यानमारको तर्फबाट म्याराथनतर्फ प्रतिस्पर्धा गरेका नेपाली/गोर्खाली मूलका एथलेटिक मो ओ (सनी मगर) ले उत्कृष्ट प्रदर्शन गरेका छन् । नेपाली मूलका मगरले ९ औं स्थान प्राप्त गरेपछि थाई नेपाली संघले सम्मान पनि गरेको छ ।
मगरले उनले आफ्नो अदम्य मेहनत, धैर्य र खेलप्रतिको समर्पणमार्फत उत्कृष्ट प्रदर्शन गर्दै ९औं स्थान हासिल गरेर नेपाली गोर्खालीको गौरव बढाएको भन्दै संघले सहयोग पनि गरेको छ ।
उनको खेलकुद यात्रामा थाई-नेपाली संघ केन्द्रीय खेलकुद विभाग, बैंकक शाखा खेलकुद विभाग, साथै थाइल्यान्डमा रहेका अन्य जातीय समितिहरूले निरन्तर सहयोग र समर्थन प्रदान गरेका थिए । खेल अवधिभर आवश्यक व्यवस्थापन, प्रोत्साहन र मनोबल बढाउने कार्यमा यी संस्थाहरूले सहयोग गरेका थिए । मगरको प्रदर्शनले खेलकुदमा नेपाली समुदायको एकता, सहकार्य र अन्तर्राष्ट्रिय योगदानलाई झल्काएको संघले जनाएको छ ।
जहाँ बसे पनि नेपाली रगतको परिचय नेपाली, गोर्खालीले सधैं यादगार बनाइदिने तथ्यलाई मो ओ (सनी मगर) ले पुनः प्रमाणित गरेको संघको भनाइ छ ।
