आईओएफटीसी नेपालको आयोजनामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबार ग्योरोगी र पुम्से विधाअन्तर्गत विभिन्न इभेन्टमा प्रतिस्पर्धा भए ।
काठमाडौँ — १५ औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को शुक्रबार औपचारिक उद्घाटन गरिएको छ । तीन दिने प्रतियोगिताका खेल बिहीबार नै सुरु भएको थियो । पहिलो दिन बोर्ड ब्रेकिङमा २२ स्वर्ण पदकको छिनोफानो भइसकेको छ ।
च्याम्पियनसिपको युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले उद्घाटन गरे । आईओएफटीसी नेपालको आयोजनामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबार ग्योरोगी र पुम्से विधाअन्तर्गत विभिन्न इभेन्टमा प्रतिस्पर्धा भए । शनिबार प्रतियोगिता समापन हुनेछ ।
प्रतियोगिताका अन्तर्राष्ट्रिय संयोजक तथा रेफ्री अशोक खड्काले शुक्रबार पुम्सेका सबै इभेन्ट सकिएको बताए । उनका अनुसार ग्यारोगीमा पनि १४ वर्षमुनिका सबै प्रतिस्पर्धा सकिएको छ ।
बक्सर सम्मानित
आयोजक आईओएफटीसी नेपालले उद्घाटनमा बक्सर चन्द्रबहादुर थापालाई सम्मान गरेको छ । चन्द्रबहादुरलाई २५ हजारसहित सम्मानित गरिएको हो ।
बक्सर थापाले गत साता संयुक्त अरब इमिरेट्सको दुबईमा भएको आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपअन्तर्गत ५४ केजी तौल समूहमा कांस्य पदक जितेका थिए । चन्द्र विश्व बक्सिङ च्याम्पियनसिपमा पदक जित्ने पहिलो नेपाली हुन् ।
उद्घाटनका अवसरमा तेक्वान्दो तथा खेलकर्मीलाई सम्मान गरिएको थियो । आईओएफटिसी नेपालले २६ जनालाई सम्मानित गरेको हो ।
