इंग्ल्यान्डको एसेज सपना धरापमा

यससँगै इंग्ल्यान्डको एसेज शृंखला सपना  धरापमा परेको छ । यो शृंखलालाई जीवन्त राख्ने हो भने इंग्ल्यान्डको तर्फबाट चामत्कारिक प्रदर्शन आवश्यक पर्नेछ ।

पुस ४, २०८२

एएफपी

England's Ashes dream in jeopardy

What you should know

एडिलेड — अस्ट्रेलियाको प्रभावकारी बलिङ आक्रमणसामु इंग्ल्यान्डको ब्याटिङ फेरि एकपल्ट कमजोर साबित भएपछि पाहुना टिम तेस्रो टेस्टमा पनि हारतर्फ उन्मुख देखिएको छ । यससँगै इंग्ल्यान्डको एसेज शृंखला सपना  धरापमा परेको छ । यो शृंखलालाई जीवन्त राख्ने हो भने इंग्ल्यान्डको तर्फबाट चामत्कारिक प्रदर्शन आवश्यक पर्नेछ ।

तेस्रो टेस्टको दोस्रो दिनको समाप्त हुँदा इंग्ल्यान्डले तीन विकेटमा २ सय १३ रन बनाएको छ । 

टोली अझै पहिलो इनिङ्सका आधारमा १ सय ५८ रनले पछाडि छ । अस्ट्रेलियाले ४० डिग्री सेल्सियसको प्रचण्ड गर्मीबीच आफ्नो पहिलो इनिङ्समा ३ सय ७१ रन बनाएको थियो । उसले ८ विकेट गुमाएर ३ सय २६ रनको स्थितिबाट खेल्न सुरु गरेर ४५ रन थपेको थियो । 

इंग्ल्यान्डका बेन स्टोक्स ४५ र जोफ्रा आर्चर ३० रन बनाएर खेलिरहेका छन् । इंग्लिस कप्तानले १ सय ५१ बलको सामना गरेर केही सुदृढ प्रदर्शन गरिरहेका छन् । ‘स्टोक्सले सक्दो संघर्ष गर्दै ब्याटिङ गरिरहेका छन्,’ इंग्ल्यान्डका ब्याटिङ प्रशिक्षक मार्कस ट्रेस्कोथिकले भने, ‘शारीरिक रूपमा पनि उनलाई गाह्रो भइरहेको छ ।’ स्टोक्सबाहेक ह्यारी ब्रुक्सले ४५ रन बनाए । इंग्ल्यान्डका लागि फेरि एकपल्ट ओपनिङ ब्याटर जोडी असफल रह्यो । ज्याक क्राउलीले ९ र बेन डकेटले २९ रन बनाए । लगत्तै ओली पोप ३ रन बनाएर आउट भए । जो रुटले पनि १९ रनको मात्र योगदान गरे । जेमी स्मिथले २२ र विल ज्याक्सले ६ रन बनाए । 

अझ ब्रेन्डन केयर्स शून्यमै आउट भए । अस्ट्रेलियाली बलरमध्ये प्याट कमिन्सले ५४ रनमा ३ विकेट लिए । स्कट बोलान्ड र नथान लियोनले समान २ विकेट लिए । क्यामरुन ग्रिनले पनि एक विकेट लिए । त्यसअघि अस्ट्रेलियाका लागि एलेक्स क्यारीले १ सय ६ रन बनाए । उस्मान ख्वाजाले ८२ रनको गतिलो योगदान गरे । 

पाँच टेस्टको सिरिजमा अस्ट्रेलिया २–० ले अगाडि छ । यो टेस्टको नतिजा बराबरीमा टुंगिए वा जित दुवैको स्थितिमा अस्ट्रेलियाले सिरिज जित्नेछ । अस्ट्रेलियाले पर्थ र ब्रिसवेनमा भएको दुई टेस्ट समान ८ विकेटको अन्तरले जितेको थियो । अब तेस्रो दिन अस्ट्रेलिया सक्दो चाँडै इंग्ल्यान्डको पहिलो इनिङ्स टुंग्याउने नीतिमा हुनेछ ।

कीर्तिमानी साझेदारी

न्युजिल्यान्ड– वेस्ट इन्डिजको कमजोर बलिङको फाइदा उठाएर न्युजिल्यान्डले तेस्रो तथा अन्तिम टेस्टमा बिहीबार ब्याटबाट कीर्तिमानी प्रदर्शन गरेको छ । डेभोन कन्वे र टम लाथमले पहिलो विकेटका लागि ३ सय २३ रनको साझेदारी गरे । त्यसको प्रदर्शन मदतमा न्युजिल्यान्डले पहिलो दिनको खेल समाप्त हुँदा एक विकेटमा ३ सय ३४ रन बनाएको छ । 

न्युजिल्यान्डका लागि टेस्ट क्रिकेटमा ३ सय रनको साझेदारी भएको यो आठौंपल्ट हो । आउट हुने एकमात्र ब्याटरमध्ये कप्तान लाथमले १ सय ३७ रन बनाए । उनले १५ चौका र एक छक्का प्रहार गरे । लाथम आउट हुँदा ८६.४ ओभरको खेल भएको थियो । उनले २ सय ४६ बल खेलि १५ चौका र १ छक्का प्रहार गरे ।

कन्वे १ सय ७८ रन बनाएर खेलिरहेका छन् । २ सय ७९ बलका सामना गरिसकेका उनले २५ चौका प्रहार गरेका छन् । ज्याकोब डफी ९ रन बनाएर खेलिरहेका छन् । वेस्ट इन्डिजका लागि केमर रोचले त्यो विकेट प्राप्त गरे । न्युजिल्यान्ड ३ टेस्ट सिरिजमा १–० ले अगाडि छ । क्राइसचर्चमा भएको पहिलो टेस्ट बराबरीमा टुंगिएपछि न्युजिल्यान्डले वेलिङ्टनमा भएको दोस्रो टेस्ट जितेको थियो ।

एएफपी

Link copied successfully