विभिन्न खेलको पदक जितका आधारमा विजेता टोली घोषणा गरिनेछ । च्याम्पियन स्कुलले ५ लाख रुपैयाँ पाउनेछन् ।
काठमाडौँ — तेस्रो जेम्स थन्डर बोल्ट्स कप खेलकुद बिहीबार जेम्स विद्यालयको मैदानमा सुरु भएको छ ।
थन्डर बोल्ट्स कपमा समूहगततर्फ फुटबल, भलिबल, बास्केटबल, फुटसल र क्रिकेट तथा ब्यक्तिगततर्फ पौडी, आर्चरी, जुडो, तेक्वान्दो, टेबलटेनिस, टेनिस, ई–स्पोर्ट्स खेल समावेश गरिएको आयोजकले जनाएको छ । देशभरका एक सय सात विद्यालयका ३५ सयभन्दा बढी खेलाडीको सहभागिता रहेको छ ।
‘सपना देख, विश्वास गर, प्राप्ति गर’ भन्ने नारा बोक्दै जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागले आयोजना गरेको प्रतियोगिताको बिहीबार ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उद्घाटन गरे ।
उद्घाटनमा जेम्स विद्यालयका संस्थापक अध्यक्ष राजेश खड्का, थन्डर बोल्ट्स डेभलपमेन्ट सेन्टरका निर्देशक बरुण खड्का, एनओसी स्पोर्ट्स फर अलका विष्णुगोपाल श्रेष्ठ, ललितपुर महानगरपालिका शिक्षा विभागका निर्देशक देवी पौड्याल, नेपाल मेडिसिटी अस्पतालका सीईओ डा. अमित कुमारलगायतको उपस्थिति थियो ।
विभिन्न खेलको पदक जितका आधारमा विजेता टोली घोषणा गरिनेछ । च्याम्पियन स्कुलले ५ लाख रुपैयाँ पाउनेछन् ।
यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालका विद्यालयबीच बलियो खेल संस्कृति र सौहार्द सम्बन्ध विकास गर्ने रहेको छ । थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरद्वारा प्रायोजित र फोटोनद्वारा समर्थित प्रतियोगिता पुस ९ सम्म चल्नेछ ।
