इटहरी रंगशालामा सुरु भएको तीनदिने प्रतियोगितामा १० पालिकाका टिम सहभागी छन्, विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ।
What you should know
इटहरी — भलिबल खेलको प्रवर्द्धन र विकासका लागि इटहरीमा कोशी प्रदेश पालिकास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। आयोजक इटहरी भलिबल क्लबले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता माघ ७ गतेदेखि सुरु हुने जानकारी दिएको हो।
तीन दिनसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशका विभिन्न १० वटा पालिकाका टिमले प्रतिस्पर्धा गर्ने क्लबका सचिव प्रकाश गौतमले जानकारी दिए। प्रतियोगितामा विजेता टिमले नगद १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने सचिव गौतमले बताए। सेमिफाइनलमा पराजित टिमहरूलाई पनि सान्त्वना पुरस्कार स्वरूप १०–१० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुने टिमले बढीमा तीन जना मात्र राष्ट्रिय खेलाडीलाई समावेश गर्न पाउने व्यवस्था गरिएको छ। ती तीनै जना खेलाडी कोशी प्रदेशकै हुनुपर्ने क्लबका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए।
इटहरी क्षेत्र कुनै समय भलिबल खेलको उर्वर भूमिका रूपमा परिचित रहेको र जिल्लास्तरदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म सहभागिता जनाएका थुप्रै खेलाडी इटहरीले उत्पादन गरेको क्लबले जनाएको छ। विसं २०४७, २०४८, २०७३ र २०८१ सालमा राष्ट्रियस्तरका ठूला भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएका थिए। ती प्रतियोगितामा तत्कालीन समयका चर्चित राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको उल्लेख गर्दै क्लबले पछिल्ला वर्षहरूमा यहाँका खेल गतिविधिहरू क्रमशः कमजोर बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ।
युवापुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने, अनुशासनको विकास गर्ने तथा कुलत र गलत गतिविधिबाट टाढा राख्ने उद्देश्यसहित 'स्वस्थ समाजका लागि खेलकुद' भन्ने नाराका साथ इटहरी भलिबल क्लब स्थापना गरिएको हो। पहिलो चरणको कार्यक्रमका रूपमा कोशी प्रदेशका विभिन्न पालिकाका प्रतिष्ठित टिमहरूको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।
इटहरी रंगशाला परिसरमा रहेको भलिबल कोर्टमा हुने प्रतियोगिता सञ्चालनका लागि ६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
