बिहीबार बौद्धस्थित डाउनटाउनमा सम्पन्न खेलमा बीआईएले स्पाइनल इन्ज्युरी संघ नेपाललाई ५–३ स्कोरले हराएको थियो ।
काठमाडौँ — आयोजक बीआईए इन्स्टिच्युटले नेपालमा पहिलो पटक भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण खेल जितेको छ ।
बिहीबार बौद्धस्थित डाउनटाउनमा सम्पन्न खेलमा बीआईएले स्पाइनल इन्ज्युरी संघ नेपाललाई ५–३ स्कोरले हराएको थियो । गोकर्णेश्वर नगरपालिका–५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्ज्युरी संघको सहयोगमा सम्पन्न सम्पन्न मैत्रीपूर्ण खेल नेपालमा ह्विलचेयर रग्बीको पहिलो औपचारिक खेल हो ।
विजेता खेलाडीलाई नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा, गोकर्णेश्वर–५ का वडा अध्यक्ष नारायणबहादुर सुवेदी, अमेरिकी दूतावासका राजनीतिक अधिकृत ब्लेक गिरागोस, बीआईएका कार्यकारी निर्देशक गोकर्ण ढुंगाना तथा नेपाल स्पाइनल इन्ज्युरी पुनर्स्थापनाका डा. राजु ढकाललगायतले पुरस्कार वितरण गरे ।
बीआईएका प्रकाश बस्नेत उत्कृष्ट खेलाडी भए भने स्पाइनल इन्ज्युरी संघका अनन्त राई ‘इमर्जिङ प्लेयर’ चुनिए । दुवै खेलाडीले पुरस्कारस्वरूप एयर कुशन प्राप्त गरे ।
बीआईएका कप्तान दिलीप सापकोटाले लामो समयको प्रयासपछि ह्विलचेयर रग्बी खेल आयोजना गर्न सकिएको बताए ।
उनले पूर्ण अशक्त, अपाङ्गता भएका व्यक्तिहरूलाई समाजसँग जोड्ने, उनीहरूलाई घरबाहिर ल्याउने र खेलमार्फत समावेशी बनाउने नै यस खेलको मुख्य उद्देश्य भएको बताए ।
