प्रेसिडेन्सियल ग्य्राजुएट स्कुलले उनलाई उत्कृष्ट ब्याटिङ प्रदर्शनका लागि उक्त सम्मान गरेको हो ।
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जितेका पोखरा एभेन्जर्सका ब्याटर एडम रोसिङ्टनलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
प्रेसिडेन्सियल ग्य्राजुएट स्कुलले उनलाई उत्कृष्ट ब्याटिङ प्रदर्शनका लागि उक्त सम्मान गरेको हो । रोसिङ्टनको अनुपस्थितिमा पुरस्कारको चेक लुम्बिनी लायन्सका सहायक प्रशिक्षक सुवास खकुरेलले ग्रहण गरेका थिए ।
पोखराबाट खेलेका रोसिङ्टन ७ खेलमा ३२३ रन बनाएर सर्वाधिक रनकर्ता बनेका थिए । पोखरा लिग चरणबाटै बाहिरिए पनि रोसिङटनले एक शतक र दुई अर्धशतकको प्रदर्शन गरेका थिए ।
प्रेसिडेन्सियल ग्य्राजुएट स्कुलले प्रतियोगिताका प्रत्येक खेलमा सर्वाधिक रन बनाउने खेलाडीलाई प्रेसिडेन्सियल प्लाटिनम क्याप प्रदान गरेको थियो ।
क्यानसँगको सहकार्यमा उक्त क्याप प्रदान गरिएको कलेजका अध्यक्ष लक्ष्मण केसीले बताए । उनका अनुसार प्रतियोगिताका क्रममा एडम रोसिङ्टन, मार्क वाट र रबि बोपाराले प्लाटिनम क्याप पाएका थिए ।
एनपीएलको सुरुदेखि नै अफिसियल एजुकेसन पार्टनर रहेको कलेजले रोसिङ्टनलाई प्लाटिनम क्यापसँगै ५० हजार नगद पुरस्कारसमेत प्रदान गरेको जनाएको छ ।
