अन्तरविद्यालय राष्ट्रिय स्केट हुने

प्रतियोगितामा देशका विभिन्न विद्यालयबाट करिब ३ सय खेलाडीको सहभागिता रहने ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानियाँ बडूले बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

पुस २, २०८२

कान्तिपुर संवाददाता

Inter-school national skate to be held

What you should know

काठमाडौँ — ज्ञान संस्कार स्कुलको आयोजना तथा नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समवन्यमा तेस्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा देशका विभिन्न विद्यालयबाट करिब ३ सय खेलाडीको सहभागिता रहने ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानियाँ बडूले बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

प्रधानाध्यापकले स्केटिङ खेल पर्यावरणमैत्री खेल भएको बताउँदै यसलाई वातावरण अनुकूल बनाएर भविष्यमा सामान्य यातायातको वैकल्पिक साधनका रूपमा समेत प्रयोग गर्न सकिने बताइन् । उनले स्केटिङले शारीरिक स्वास्थ्य, अनुशासन र आत्मविश्वास विकासका साथै वातावरण संरक्षणमा समेत सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन् ।

प्रतियोगितामा छात्र/छात्रातर्फ ६–६ विधामा प्रतिस्पर्धा हुने नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका महासचिव सत्य थापाले बताए । छात्र/छात्रातर्फ ६ वर्षमुनि, ६–८, ८–१०, १०–१२, १२–१४ र १४–१६ वर्ष उमेर समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर दिइने बताइएको छ । एकदिने प्रतियोगिताका खेल आयोजक ज्ञान संस्कारकै हातामा हुनेछ ।

यसैबीच माल्दिभ्समा सेप्टेम्बर ४ देखि ६ तारिखसम्म भएको अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगिताका पदक विजेतासहित सहभागी खेलाडीलाई स्केटिङ संघले सम्मान गरेको थियो ।

उक्त प्रतियोगितामा कांस्य जितेकी प्रिशा खाँडसहित सहभागी रोज बडू, जून बडू, काश्वी भट्टराई, सिमरन भूसाल र जियाना अर्याल सम्मानित भए । सम्मानित सबै ज्ञान संस्कारमा अध्ययनरत छन् ।

खेलाडीलाई स्केटिङ तथा स्केट बोर्डिङ संघका महासचिव थापाले मायाको चिनो र प्रधानाध्यापक बडूले गिफ्ट ह्याम्पर प्रदान गरे ।

कान्तिपुर

Link copied successfully