आईजीपी फुटबल रनिङ ट्रफी : पुलिस स्कुल साँगा र सैनिक महाविद्यालय फाइनलमा

आइतबारको पहिलो सेमिफाइनल खेलमा सैनिक महाविद्यालयले पिस प्वाइन्ट स्कुललाई टाईब्रेकरमा ४-२ अन्तरले पाखा लगायो ।

पुस २, २०८२

ज्योती श्रेष्ठ

IGP Football Running Trophy: Police School Sanga and Sainik Mahavidyalaya in the finals

What you should know

काभ्रे — नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा सञ्चालन भइरहेको ३१औं अन्तर माध्यामिक विद्यालय आईजीपी फुटबल रनिङ ट्रफी प्रतियोगितामा नेपाल पुलिस स्कुल र सैनिक महाविद्यालय फाइनलमा प्रवेश गरेका छन् ।

आइतबार खेलिएको पहिलो सेमिफाइनल खेलमा सैनिक महाविद्यालयले पिस प्वाइन्ट स्कुललाई टाईब्रेकरमा ४-२ अन्तरले पाखा लगायो । निर्धारित ८० मिनेटको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकलिएको थियो । टाई ब्रेकरमा सैनिकका किपरले पिस प्वाइन्टका दुई पेनाल्टीलाई बचाई टिमको फाइनलमा स्थान सुरक्षित गरेका थिए । सैनिकका गोलकिपर अलिन तामाङ प्लेयर अफ द म्याच घोषित भए ।

आयोजक नेपाल पुलिस स्कुल ‘रातो’ र पुलिसकै अर्को टिम नेपाल पुलिस स्कुल धरानबीचको दोस्रो सेमिफाइनल खेल नेपाल पुलिस स्कुल ‘रातो’ ले २-० गोल अन्तरले जित्दै लगातार दोस्रो वर्ष पनि फाइनलमा स्थान सुरक्षित गरेको छ । पुलिस रातोका मनिष बनरइत प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिताको फाइनल खेल पुस ४ गते शुक्रबार नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीको उपस्थितिमा नेपाल पुलिस स्कुल साँगाको खेल मैदानमा हुनेछ ।

मंसिर १७ गतेदेखि सुरु भएको प्रतियोगितामा १४ विद्यालयका १५ टिम सहभागी थिए । आयोजक नेपाल पुलिस स्कुलका दुई टिमसहित नेपाल पुलिसकै अन्य स्कुलहरू (सामाखुसी, धरान र चितवन) सहित काभ्रे र काठमाडौँ उपत्यकाका विभिन्न प्रतिष्ठित विद्यालयहरूको सहभागिता थियो । लिग कम नकआउट आधारमा सञ्चालन भएको सो प्रतियोगिताका पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने टिमहरूले क्रमशः रु. ६०,०००, रु. ४०,००० र रु. २०,०००  नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान जित्नेछन् । साथै, उत्कृष्ट खेलाडीहरूलाई व्यक्तिगत विधामा विशेष पुरस्कार प्रदान गरिनेछ ।

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully