भलिबल प्रतियोगितासँगै सांस्कृतिक र खाना महोत्सव पनि सुरु
What you should know
गोरखा — आरुघाट गाउँपालिका–९ आरुघाटमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता सुरु भएको छ ।
आरुघाट युवा क्लबको आयोजनामा मंगलबारदेखि पुस ५ सम्म भलिबल प्रतियोगिता हुनेछ । गण्डकी प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल तथा खुला क्लब/पालिका महिला भलिबल प्रतियोगिता भएको आरुघाट युवा क्लबका संयोजक सोभित श्रेष्ठले बताए । पुरुष भलिबल प्रतियोगितामा १२ टिमको सहभागिता छ । विजेतालाई २ लाख, उपविजेतालाई १ लाख २५ हजार, तेस्रो हुने टिमलाई ७५ हजार र सान्त्वना तथा चौथो हुने टिमलाई २५ हजार रुपैयाँ पुरस्कार व्यवस्था गरिएको छ ।
खुला महिला भलिबलमा ६ टिमको सहभागिता रहेको छ । मंगलबार आरुघाट युवा क्लबले मनास्लु भलिबल ट्रेनिङ सेन्टर काठमाडौंलाई ३–० को सोझो सेटमा हराएको छ । महिलातर्फ विजेताले एक लाख ५० हजार, दोस्रोले १ लाख, तेस्रोले ५० हजार र चौथो हुनेले २५ हजार नगद पुरस्कार पाउने संयोजक श्रेष्ठले बताए ।
बूढीगण्डकी आयोजनाका कारण डुबानमा पर्ने आरुघाट क्षेत्रमा सुस्ताएको बजार चलायमान बनाउन पनि भलिबलसँगै सांस्कृतिक एवं आँगन खाना महोत्सव पनि गरिएको श्रेष्ठले बताए । ‘बूढीगण्डकी आयोजनाले डुबानमा पर्ने यस क्षेत्रमा मुआब्जा वितरण भएपछि कतिपय स्थानीय काठमाडौं, चितवन गएका छन्, डुबानमा पर्ने भनेपछि उत्तरी क्षेत्रकै नाकाको बजार सुस्ताएको छ,’ उनले भने, ‘खेलकुद र सांस्कृतिक कार्यक्रमको माध्यमबाट जिल्लाबाहिर रहेकालाई पनि गाउँ फर्कने माध्यम बनाउन खोजेका हौं ।’ आँगन खाना महोत्सवमा विभिन्न नेवारी परिकार समेटिएको छ । सांस्कृतिक महोत्सवमा घाटु, सोरठीलगायतका परम्परागत नाच पनि प्रस्तुत भइरहेको छ ।
