न्यु होराइजनलाई अन्तरविद्यालय क्रिकेटको उपाधि

होराइजनले प्रथम पुरस्कारस्वरूप ५० हजार हात पारेको छ भने उपविजेता लीलारामले २५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

पुस १, २०८२

दीपेन्द्र बडुवाल

New Horizons wins inter-school cricket title

What you should know

भैरहवा — रूपन्देहीको बुटवलस्थित न्यु होराइजन स्कुलले भैरहवामा सञ्चालन भएको स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा होराइजनले रूपन्देही लीलाराम न्यौपाने मावि भैरहवालाई ५ रनले पराजित गर्दै उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले ८ विकेटको क्षतिमा ९९ रन बनाएको थियो । उसका लागि प्रिन्स पालले ३१ र आरुष अधिकारीले १७ रन जोडेका थिए । बलिङमा लीलारामका विक्की मल्लाहले ३, प्रेमसागर यादवले २ तथा कृष्णमोहन कुर्मी र आयन खानले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको लीलाराम १७ ओभर २ बलमा ९४ रन जोड्दा अलआउट भयो । बलिङमा होराइजनका अमृत अर्यालले ४, रिजन बुढाथोकीले ३, श्रीयान्स ज्ञवालीले २ तथा आशराम अलीले १ विकेट हात पारे । 

लीलारामका आयन खानले ३४, अजय केवटले २१ र सुनिल यादवले १६ रन बनाए पनि जितका लागि पर्याप्त भएन । अमृत अर्याल प्लेयर अफ द फाइनल भई पाँच सय रुपैयाँबाट पुरस्कृत भए । 

होराइजनले प्रथम पुरस्कारस्वरूप ५० हजार रुपैयाँ हात पारेको छ भने उपविजेता लीलारामले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा न्यु होराइजनका प्रिन्स पाल म्यान अफ द सिरिज भई १० हजार रुपैयाँ प्राप्त गरे । यस्तै, अमरज्योति स्कुलका सम्राट बराल बेस्ट बलर र लुम्बिनी शिक्षा निकेतनका वासुदेव यादव बेस्ट ब्याटर भए । उनीहरूले जनही ५ हजार रुपैयाँ पुरस्कार पाए । 

होराइजन जीबीएस बेस्ट अनुशासित टिम भई पुरस्कृत भयो । पर्वत ज्वेलर्स, भैरहवाले प्रायोजन गरेको प्रतियोगितामा रूपन्देहीका ३० वटा विद्यालय सहभागी थिए । विजेता र उपविजेता टिमलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँ, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्ल, सिद्धार्थनगरका प्रमुख प्रशासकीय अधिकृत जनक थापा, कार्यक्रम संयोजक उदयकुमार मल्लिक लगायतले पुरस्कार प्रदान गरेका थिए ।

दीपेन्द्र

Link copied successfully