विजेताले ३ लाख र उपविजेताले १ लाख ७५ हजार रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
ताप्लेजुङ — मेरिङदेन गाउँपालिका-३ खाम्लुङ र आठराई त्रिवेणी गाउँपालिका-३ हाङपाङमा लाग्ने पुसे मेलामा हुने अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगितामा भारत कोलकाताको टिम पनि सहभागी हुने भएको छ ।
पुसे मेला सञ्चालन समिति र दोभान स्पोर्टिङ क्लबले गर्ने प्रतियोगितामा युनाइटेड एथलेटिक्स क्लब कोलकाता सहभागी हुने मेला सञ्चालन समितिका अध्यक्ष हेम चोङवाङले जानकारी दिए ।
पुस १ देखि सुरु भएर ५ मा सम्पन्न हुने प्रतियोगितामा गत वर्षको उपाधि विजेता भोजपुर भलिबल क्लब, सभापोखरी भलिबल क्लब संखुवासभा, भलिबल ट्रेनिङ सेन्टर दमक झापा, मुकेश ममोरियल क्लब सिरिजङ्गा ताप्लेजुङ, निर्वाचन क्षेत्र नम्बर ‘ख’ ताप्लेजुङ र रानी भलिबल संघ विराटनगर मोरङको टिम रहनेछन् ।
भलिबल प्रतियोगिताको संयोजन भलिबल एम्पायर कृष्ण चोङवाङले गर्नेछन् ।
पुसे मेला सञ्चालन समितिका सचिव गणेश कार्कीडोलीका अनुसार विजेताले ३ लाख र उपविजेताले १ लाख ७५ हजार रुपैयाँका साथ ट्रफी, मेडल प्राप्त गर्नेछन् । सेमिफाइनल पुग्ने दुई टिमलाई सान्त्वनास्वरुप ५० हजारका दरले नगद दिइनेछ ।
सर्वोत्कृष्टलाई नगद ७ हजार र हरेक खेलका म्यान अफ द म्याचलाई १ हजार ५ सय रुपैयाँ प्रदान गरिने अध्यक्ष चोङवाङले बताए । प्रतियोगिता दोभान बजारको खेल मैदानमा हुनेछ ।
