कृष्णप्रसाद भट्टराई स्मृति गोल्ड कपको विजेताले ४ लाख ४४ हजार रुपैयाँ पाउने

आयोजक द योङ ब्रदर्स क्लबले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी पुरस्कार राशिमा गत वर्षभन्दा दोब्बरले वृद्धि गरिएको जानकारी दिएको हो ।

मंसिर २७, २०८२

अर्जुन सुवेदी

The winner of the Krishna Prasad Bhattarai Memorial Gold Cup will receive Rs. 444,000.

सुनसरी — तेस्रो स्व. कृष्णप्रसाद भट्टराई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार रुपैयाँ पुरस्कार पाउने भएको छ ।

आयोजक द योङ ब्रदर्स क्लबले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी पुरस्कार राशिमा गत वर्षभन्दा दोब्बरले वृद्धि गरिएको जानकारी दिएको हो ।

क्लबका अनुसार प्रतियोगिता आगामी फागुन २ गतेदेखि ९ गतेसम्म इटहरीस्थित जनता क्याम्पसको मैदानमा आयोजना हुनेछ । प्रतियोगितामा नेपाल र भारतका विभिन्न ८ टिमहरूको सहभागिता रहने जनाइएको छ । सहभागी टिमहरूलाई पत्राचार गरिसकिएको र आगामी हप्ता टुङ्गो लागिसक्ने क्लबका संरक्षक विकास केसीले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई ७ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई जनही १३–१३ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिता इटहरी उप–महानगरपालिकाको संयोजन तथा कोसी प्रदेश खेलकुद विकास बोर्डको संरक्षणमा आयोजना हुन लागेको केसीले जानकारी दिए ।

अर्जुन सुवेदी

Link copied successfully