‘रणउजिरेश्वरी भगवती कप’ भलिबलमा साढे १५ लाख आम्दानी

प्रतियोगितामा पहिलो हुने पुरुषतर्फको टिमले नगद १ लाख ७५ हजार, उपविजेताले १ लाख २५ हजार प्राप्त गरेका थिए ।

मंसिर २७, २०८२

माधव अर्याल

'Ranujireshwari Bhagwati Cup' volleyball generates Rs. 1.5 million in revenue

पाल्पा — गत साउन २८ देखि भदौ १ गतेसम्म तानसेनमा सम्पन्न ‘दोस्रो रणउजिरेश्वरी भगवती कप’ भलिबल प्रतियोगिताको आम्दानी खर्च शनिबार सार्वजनिक गरिएको छ ।

श्रीनगर भलिबल क्लब पाल्पाको आयोजनामा सम्पन्न प्रतियोगितामा १५ लाख ५६ हजार ७५० आम्दानी खर्च सार्वजनिक गरेको हो ।

क्लबका अध्यक्ष कृष्ण बहादुर आलेले प्रतियोगितामा १५ लाख ५६ हजार ७५० आम्दानी र १५ लाख ४३ हजार ९०५ खर्च भएको बताए । प्रतियोगिताबाट क्लबले १२ हजार ८४५ रुपैयाँ बचत गरेको उनले बताए ।

प्रतियोगितामा पहिलो हुने पुरुषतर्फको टिमले नगद १ लाख ७५ हजार, उपविजेताले १ लाख २५ हजार प्राप्त गरेका थिए ।

अध्यक्ष आलेका अनुसार ८ लाख ३९ हजार ७५० चन्दा संकलनबाट प्राप्त आम्दानी हो । तानसेन नगरपालिका, रैनादेवी छहरा गाउँपालिकालगायत विभिन्न कार्यालय तथा संस्थाबाट २ लाख २७ हजार प्राप्त भएको उनले बताए ।

टिकट बिक्रीबाट ४ लाख ९० हजार संकलन भएको उनले जानकारी दिए । ‘हामीले रणउजीरेश्वरी कपलाई तानसेन नगरपालिकाले अपनत्व लिइदिए हुन्छ भन्ने हो,’ उनले भने, ‘अधिकांश भलिबलप्रेमीको सहयोगबाट नै खेल संचालन गर्न सफल भएका हौं ।’ पुरुषतर्फको पुरस्कार ४ लाख १० हजार, महिलाका लागि ७३ हजार पुरस्कारमा खर्च भएको छ ।

प्याराफिट, टेन्ट, अफिसियल, फिल्ड निर्माण तथा मर्मत, स्वयंसेवक, खानाखाजा, अतिथि सम्मान, खेलकुद सामाग्री, प्रमाणपत्र, मायाको चिनो, मनोरञ्जन करलगायतमा खर्च भएको श्रीनगर भलिबल क्लबका सचिव दीपक चौहानले जानकारी दिए । 

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully