रेणु तामाङले शुक्रबार दुबईमा भएको महिला ४७ केजीमुनिको तौलबाट कांस्य दिलाएकी थिइन् ।
काठमाडौँ — दुबईमा भएको पाँचौं एसियाली युथ पारा गेम्सअन्तर्गत तेक्वान्दोमा नेपाली पारा खेलाडी रेणु तामाङले कांस्य जितेकी छन् ।
रेणुले शुक्रबार महिला ४७ केजीमुनिको तौलबाट कांस्य दिलाएकी थिइन् । उनी राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको मिसन २०२६ को प्रशिक्षण क्याम्पमा रहेकी खेलाडी हुन् ।
पदक विजेता रेणु र प्रशिक्षक कविराज नेगी लामा शनिबार स्वदेश फर्किएका हुन् । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठ, नेपाल तेक्वान्दो संघ सल्लाहकार तथा पूर्व अध्यक्ष प्रकाश शमशेर राणा र महासचिव हेमन्त डाँगीलगायत राष्ट्रिय पारा तेक्वान्दो टिमका खेलाडीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
यसै प्रतियोगिताको टेबलटेनिसमा नेपाली खेलाडी स्वीकृत न्यौपानेले यू–२३ पुरुष सिंगल्स (क्लास ७) मा रजत पदक जितेका थिए ।
