दूतावासका उपनियोग प्रमुख मोतीबहादुर श्रीसले धावकद्वयलाई खादा र मायासहित सम्मान गरे ।
What you should know
बैंकक — थाइल्यान्डको च्याङ्गमाईमा गत साता आयोजित प्रसिद्ध अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगितामा सहभागिता जनाई सफलता हासिल गरेका नेपाली धावकद्वय सुनमाया बुढा र राममाया बुढा सम्मानित भएका छन् ।
नेपाली राजदूतावास बैंककले शनिबार एक कार्यक्रम आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । दूतावासका उपनियोग प्रमुख मोतीबहादुर श्रीसले धावकद्वयलाई खादा र मायाको चिनोसहित सम्मान गरे । कठिन र प्रतिष्ठित १०० किलोमिटर लामो ट्रेल रनमा जुम्ला निवासी धावक सुनमायाले चौथो स्थान र ५० किलोमिटर लामो ट्रेल रनमा राममायाले सातौं स्थान प्राप्त गरेका थिए ।
उक्त अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगिता अल्ट्रा–ट्रेल दु मोन्ट–ब्लांक शृंखलाअन्तर्गत आयोजना गरिएको थियो । थाइल्यान्डको उत्तरी पहाडी भू–भाग, जंगल, उकालो–ओरालो तथा कठिन भौगोलिक संरचनालाई समेटेर आयोजना गरिएको प्रतियोगितामा विश्वका विभिन्न देशका व्यावसायिक तथा अनुभवी धावकहरूको सहभागिता थियो ।
कार्यक्रममा धावक सुनमायाले जुम्लाको दुर्गम भूगोल, अभावपूर्ण जीवन अवस्था, निरन्तर संघर्ष, कठोर अभ्यास र आत्मविश्वासको यात्राबारे आफ्नो प्रेरणादायी अनुभव सुनाएकी थिइन् ।
उपनियोग प्रमुख श्रीसले नेपाली खेलाडीहरूको अन्तर्राष्ट्रिय सफलताले नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरर् । उनले भविष्यमा पनि यस्ता प्रतिभाहरूलाई प्रोत्साहन गर्न राजदूतावास सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरे । उनले दूतावासले आयोजना गर्न लागेको लुम्बिनी-नेपाल मिनी म्याराथुनको बारेमा समेत प्रकाश पारे ।
सोही अवसरमा पीएनओका अध्यक्ष कुमार कार्कीले धावकद्वयलाई प्रोत्साहन स्वरूप एक लाख आर्थिक सहयोग प्रदान गरे ।
सम्मान कार्यक्रममा नेपाली राजदूतावासका कर्मचारीहरू, गैरआवासीय नेपाली संघ, थाइ–नेपाली संघ, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा शिक्षा, पेसा, व्यवसायमा संलग्न नेपालीहरूको उपस्थिति थियो ।
