दुवै टोलीसामु लगातार दोस्रो जित निकालेर फाइनल प्रवेशको आधार तयार पार्ने अवसर हुनेछ ।
काठमाडौँ — साफ वुमेन्स क्लब च्याम्पियनसिप फुटबलमा उपाधिका दाबेदार रहेका एपीएफ र इस्ट बंगाल क्लब बिहीबार मैदानमा उत्रँदै छन् । दुवै टोलीसामु लगातार दोस्रो जित निकालेर फाइनल प्रवेशको आधार तयार पार्ने अवसर हुनेछ ।
दशरथ रंगशालामा हुने पहिलो खेलमा इस्ट बंगालले कराँची सिटी एफसीको सामना गर्नेछ । दोस्रो खेलमा एपीएफ ट्रान्सपोर्ट युनाइटेडविरुद्ध खेल्दै छ । प्रतियोगिताको तेस्रो दिनको खेल अगाडि एपीएफ र इस्ट बंगाल समान ३ अंकमा शीर्ष दुई स्थानमा छ । दुवैले एकै खेल मात्र खेलेको छ ।
कुल पाँच टिमको सहभागिता रहेको प्रतियोगितामा कराँचीको २ अंक छ भने ट्रान्सपोर्ट र नसरिन स्पोर्टस एकेडेमी १–१ अंकमा छन् । भारतको इस्ट बंगालले आफ्नो पहिलो खेलमा भुटानको ट्रान्सपोर्टलाई ४–० ले हराएको थियो ।
एपीएफ पनि बंगलादेशको नसरिनविरुद्ध ४–० ले विजयी रहेको थियो । कराँचीले भने ट्रान्सपोर्ट र नसरिन दुवैसँग गोलसहित बराबरी खेलेको थियो ।
इस्ट बंगाल र एपीएफ आ–आफ्नो दोस्रो खेलमा विजयी रहे बाँकी तीन टिमको फाइनल पुग्ने सम्भावना कमजोर हुनेछ । लिग चरणको समाप्तिमा शीर्ष दुई स्थानमा रहने टिम सिधै फाइनल पुग्नेछ ।
