प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा बुधबार पाँचथर फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ गोलअन्तरले पराजित गर्दै न्यू स्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
What you should know
ताप्लेजुङ — झापाको न्यू स्टार क्लब सिरिजंगा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
झापाको न्यू स्टार क्लब सिरिजंगा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिरिजंगा गाउँपालिकाको केन्द्रस्थित तेल्लोक माविको मैदानमा जारी प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा पाँचथर फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ गोलअन्तरले पराजित गर्दै न्यू स्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा १-१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।
सुरुवाती अग्रता पहिलो हाफको १६ औं मिनेटमा न्यू स्टारले लिएको थियो । विदेशी खेलाडी रिचार्ड विल्सनले गोलको खाता खोलेका थिए ।
दोस्रो हाफको ६४ औं मिनेटमा पाँचथरका निरोज लिङ्देनले गोल फर्काए र टिमलाई बराबरी बनाए । टाइब्रेकरमा पाँचथरका गोलकिपर मिराक खजुम र प्रकाश धमलाको प्रहार बाहिरिएसँगै घर फर्किएको हो । सुशन लिम्बू, निरोज लिङ्देन र मनिष क्षेत्रीले मात्रै गोल गरे ।
झापाका लागि विक्रम तामाङ, निरज परियार, राजेश साह र रिचार्डको प्रहार गोलमा परिणत हुँदा विदेशी खेलाडी अजय मार्टिनको प्रहार पाँचथरका गोलकिपर मिराकले रोके । खेलको प्लेयर अफ दी म्याच झापाका रिचार्ड विल्सन भए ।
बिहीबारको खेल मरिक एफसी धरान र भारत सिलिगुडीको पारिजात फुटबल क्लबबीच दिउँसो २ बजेदेखि हुने आयोजकले बताएका छन् ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । विजेताले ३ लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउने छन् । सर्वोत्कृष्ट खेलाडीले १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरले ५ हजार रुपैयाँका दरले पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए । फाइनल मंसिर २९ गते हुनेछ ।
