सिरिजङ्गा गोल्डकप फुटबलमा आयोजकको विजयी सुरुआत

किरात लिम्बू भाषा तथा लिपिका प्रवर्द्धक सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सिरिजंगासिं थेबेको जन्मजयन्तीको अवसरमा गाउँपालिकाको केन्द्र तेल्लोकमा प्रतियोगिता प्रारम्भ भएको हो ।

मंसिर २४, २०८२

आनन्द गौतम

Hosts make winning start in Sri Lankan Gold Cup football

ताप्लेजुङ — सिरिजङ्गा गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक तेल्लोक स्पोर्टिङ क्लबले बिजयी सुरुआत गरेको छ ।

मङ्गलबार भएको उद्‌घाटन खेलमा रेडहर्स एफसी इलामलाई ट्राइब्रेकरमा ५-३ गोलले पराजित गर्दै तेल्लोक सेमिफाइनलमा प्रवेश गरेको हो ।

किरात लिम्बू भाषा तथा लिपिका प्रवर्द्धक सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सिरिजंगासिं थेबेको जन्मजयन्तीको अवसरमा गाउँपालिकाको केन्द्र तेल्लोकमा प्रतियोगिता प्रारम्भ भएको हो । 

निर्धारित समयमा एकएकको बराबरी खेलेका प्रतिस्पर्धीले पेनल्टी सुटआउटमा पुर्‍याएका हुन् । तेल्लोकको तर्फबाट शिशिर राई, सुनियोजित लिम्बू, दिपेश लिम्बू, सविन लिम्बू र प्रनिश गुण्डे गोल गर्न सफल भए । 

इलामका विवेक सुनम, अर्जुन गुरुङ, बिनोद धमला गोल गर्न सफल भएपनि सुदीप लिम्बूको पहिलो प्रहारनै तेल्लोकका गोल किपर पर्वत लिम्बूले रोकिदिए ।

पहिलो हाफको ३८औं मिनेटमा तेल्लोकका दिपेशले गोलको खाता खोलेका थिए । ४८ औं मिनेटमा इलामका बिनोदले हेडमार्फत् गोल फर्काउँदै बराबरी बनाए । खेलको म्यान अफ द म्याच तेल्लोकका गोल किपर पर्वत भए ।

बुधबारको खेल न्यूस्टार फुटबल क्लब बिर्तामोड झापा र पाँचथर वाइवाई फुटबल क्लब फिदिमबिच दिउँसो २ बजेदेखि आयोजकले बताएका छन् ।

भारतको एक सहित आठ टिमको सहभागिता रहेको प्रतियोगिताका विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार पाउने छन् । प्रतियोगिताको फाइनल खेल मंसिर २९ गते हुने आयोजक क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully