सन्तोषीले भ्यालेन्सियामा बनाइन् राष्ट्रिय कीर्तिमान

विश्वकै प्रमुख म्याराथनमध्ये एक ४२के भ्यालेन्सिया म्याराथन आइतबार भएको थियो । त्यसमा सन्तोषीले २ घण्टा ४० मिनेट २३ सेकेन्डमा म्याराथन पूरा गरेकी थिइन् ।

मंसिर २१, २०८२

कान्तिपुर संवाददाता

Santoshi sets national record in Valencia

काठमाडौँ — ‘गोल्डेन गर्ल’ धाविकाको परिचय बनाएकी सन्तोषी श्रेष्ठले भ्यालेन्सिया म्याराथनमा दुरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

विश्वकै प्रमुख म्याराथनमध्ये एक ४२के भ्यालेन्सिया म्याराथन आइतबार भएको थियो । त्यसमा सन्तोषीले २ घण्टा ४० मिनेट २३ सेकेन्डमा म्याराथन पूरा गरेकी थिइन् । गत उनले गत वैशाखमा लन्डन म्याराथनमा आफैंले बनाएको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी हुन् ।

पेरिस ओलम्पिकको म्याराथन पूरा गरेकी सन्तोषीले बंगलादेशको बंगबन्धु म्याराथनमा २ घन्टा ४६ मिनेट २६ सेकेन्डको कीर्तिमान बनाएर आफ्नो म्याराथन यात्रा थालेकी थिइन् ।

भ्यालेन्सियामा विश्वभरका ८२ महिला एलिट रनरले प्रतिस्पर्धा गरेकामा सन्तोषीले ५८ औं स्थानमा रहेर दुरी पार गरिन् । उनीभन्दा पछाडि चार जना धाविकाले मात्र दुरी पार गरेका थिए भने अन्यले बीचमै दौड छाडेका थिए ।

गत असोजमा दिल्ली हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी सन्तोषीले कात्तिकमा साउथ एसियन सिनियर एथलेटिक्स च्याम्पियनसिपको ५००० मिटर र १०००० मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित दुई कांस्य पदक जितेकी थिइन् ।

नेपाल युके रनको पहलमा सन्तोषी भ्यालेन्सिया म्याराथनमा सहभागी भएकी हुन् । ग्लोबल स्पोर्ट्स कम्युनिकेसन नेदरल्यान्ड्सको फेलोसिपमा रहेकी सन्तोषीले भ्यालेन्सिया म्याराथनका लागि त्यहींको प्रशिक्षकबाट प्रशिक्षणमा थिइन् ।

उनी मिसन २०२६ को राष्ट्रिय प्रशिक्षणमा रहेकी खेलाडी हुन् । सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडमा स्वर्ण जितेपछि उनी नेपाली एथलेटिक्समा छाइरहेकी छन् ।

कान्तिपुर

Link copied successfully