२०७९ सालमा तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनले रनिङ सिल्ड प्रतियोगिता सुरु गरेका हुन् । विजेतालाई नगर प्रमुख महर्जनले पुरस्कृत गरे ।
What you should know
काठमाडौँ — तारकेश्वर नगरपालिकाको आयोजनामा भएको चौथो मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगितामा लालीगुराँसले ३२ स्वर्ण, ६ रजत र ३ कांस्यसहित सिल्ड जितेको छ । लालीगुराँसले लगातार तेस्रो पटक उपाधि जितेको हो ।
२०७९ सालमा तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनले रनिङ सिल्ड प्रतियोगिता सुरु गरेका हुन् । विजेतालाई नगर प्रमुख महर्जनले पुरस्कृत गरे ।
कुल ७८ स्वर्णका लागि तारकेश्वरका ६४ विद्यालयका २ हजार ६ सय ८६ विद्यार्थीको सहभागिता थियो । लालीगुराँसले १ लाखसहित ट्रफी कब्जा गरेको छ ।
हिमरश्मि स्कुलले १० स्वर्ण, १९ रजत र १३ कांस्यसहित दोस्रो स्थान हासिल गरेको छ । स्कुलले ६० हजार पायो । किन्डर गार्डेन स्कुलले ५ स्वर्ण, ७ रजत र १ कास्यसहित तेस्रो हुँदै ४० हजार पाएको छ ।
एन्जल्स हार्ट सेकेन्डरीले ४ स्वर्ण, ३ रजत र २ कांस्यसहित सान्त्वना स्थान हात पारेको छ । एन्जल्स हार्टले २० हजार पायो ।
त्यस्तै तारकेश्वरको सामुदायिक विद्यालयतर्फ मानसिंह धर्म मावि ३ स्वर्ण, ५ रजत र १ कांस्यसहित पहिलो भयो । दोस्रोमा ग्रामसेवा माविले ३ स्वर्ण १ रजत र ४ कांस्य, तेस्रोमा मनमैजु माविले २ स्वर्ण ४ रजत र ९ कांस्य पाएका थिए । तारकेश्वरका १६ सामुदायिक विद्यालयले भाग लिएको प्रतियोगितामा ९ विद्यालयले मात्र पदक जितेका थिए ।
‘खेल तारकेश्वरको : सन्देश एकताको’ भन्ने नारासहित चौथो मेयर रनिङ सिल्डका ११ खेल समावेश थियो ।
तारकेश्वरका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १८ वर्षमुनिका विद्यार्थीको मात्र सहभागिता रहेको प्रतियोगिताको फुटबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, कराते, उसु, तेक्वान्दो, चेसलगायत ११ खेल समावेश थियो । प्रतियोगितामा यस पटक चेस खेललाई समेत थप गरिएको थियो । चेस बौद्धिक खेल रहेकाले यसपालिदेखि समावेश गरिएको व्यवस्थापन समितिका संयोजक राजेन्द्रप्रसाद तिमिल्सिनाको बताए ।
नगरप्रमुख कृष्णहरि महर्जनले प्रतियोगिताले तारकेश्वरको खेलकुदमा इतिहास रचेको बताउँदै तारकेश्वरका सामुदायिक विद्यालयमा खेलकुद शिक्षकको व्यवस्था गर्ने घोषणा गरे ।
