सदरमुकाम फुङलिङस्थित भानुजन माविको मैदानमा शनिबार भएको फाइनल खेलमा मेरिङदेन गाउँपालिकालाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै फुङलिङले उपाधिमाथि कब्जा जमाएको हो ।
What you should know
ताप्लेजुङ — कञ्चनजंघा सेसेलुङ महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि फुङलिङ नगरपालिकाले जितेको छ ।
सदरमुकाम फुङलिङस्थित भानुजन माविको मैदानमा शनिबार भएको फाइनल खेलमा मेरिङदेन गाउँपालिकालाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै फुङलिङले उपाधिमाथि कब्जा जमाएको हो । विजेता फुङलिङले नगद २ लाख २ हजार रुपैयाँ हात पारेको छ भने उपविजेता मेरिङदेनले १ लाख २ हजार रुपैयाँमा चित्त बुझाउनु पर्यो ।
निर्धारित समयमा दुवै पालिकाको टिमले समान १/१ गोल गरे । खेलको १३ औं मिनेटमा फुङलिङ तर्फबाट कुमारी गुरुङले पहिलो गोल गरिन् । नेपाल पुलिस क्लबकी पूर्वकप्तान गुरुङले सम्झना लावतीको पासलाई उपयोग गर्दै गोल गरेकी हुन् । तर, दोस्रो हाफको ७५ औं मिनेटमा मेरिङदेनको तर्फबाट मनिता तामाङले हानेको कर्नर किकलाई सुष्मा लिम्बूले जाली चुमाइन् र खेललाई बराबरीमा ल्याइन् ।
आयोजकले बनाएको चारजना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी अनुबन्ध गर्न पाउने नियमलाई दुवै पालिकाले उपयोग गरेका थिए । ट्राइब्रेकरमा फुङलिङको तर्फबाट समीक्षा मगरले हानेको गोल मेरिङदेनका गोल रक्षकले रोके पनि नेहा चौधरी, सम्झना लावती, सुशीला चौधरी र कुमारी गुरुङले जाली चुमाए ।
मेरिङदेनको तर्फबाट सिम्रन राई, जिना तामाङ र अनुष्का शेर्पा गोल गर्न सफल भए । तर मनिता तामाङ र सुष्मा लिम्बू गोल गर्नबाट चुके । मनिता र सुष्माको प्रहार बाहिरिएको थियो । शनिबारको म्यान अफ द म्याच मेरिङदेनका गोलरक्षक एन्जिला तामाङ भइन् ।
प्रतियोगिता अवधिमा अनुष्का शेर्पा सर्वाधिक गोलकर्ता बनिन् । उनले खेल अवधिभर पाँच गोल गरिन । वेष्ट डिफेन्डर मेरिङदेनका मनिता तामाङ, वेष्ट गोलरक्षक फुङलिङका सुशीला चौधरी, मिडफिल्डर फुङलिङका पवित्रा लिम्बू, फरवार्ड फुङलिङकै समीक्षा मगर, सर्वोत्कृष्ट खेलाडी मेरिङदेनका सिम्रन राई, उदयमान खेलाडी मैवाखोलाका प्रमिला शेर्पा र बेष्ट कोच फुङलिङका अभय लिम्बू भए । उनीहरुले नगद आठ हजारसहित मेडल र ट्रफी पाए ।
चासोक तङनाम पर्व २०८२ को अवसरमा १३ देखि सञ्चालित प्रतियोगितामा जिल्लाका नौमध्ये आठ पालिकाको सहभागिता रहेको थियो ।
