शुक्रबार सुरु प्रतियोगितामा भ्याली पब्लिकले सिनियर गर्ल्समा दुई, जुनियर र सिनियर ब्वाइजको तीनै टोलीले जित पाए । गर्ल्समा भने भ्याली पब्लिक ‘ए’ र ‘बी’ दुवै टिम विजयी भए ।
What you should know
काठमाडौँ — आयोजक भ्याली पब्लिक हाइस्कुलका तीनै टोलीले १९ औं भ्याली पब्लिक अन्तरस्कुल बास्केटबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।
शुक्रबार सुरु प्रतियोगितामा भ्याली पब्लिकले सिनियर गर्ल्समा दुई, जुनियर र सिनियर ब्वाइजको तीनै टोलीले जित पाए । गर्ल्समा भने भ्याली पब्लिक ‘ए’ र ‘बी’ दुवै टिम विजयी भए । समूह ‘ए’ मा आयोजक ‘ए’ ले टीआईएलाई ३२–२५ स्कोरले हरायो । भ्यालीका लोरिसा गौचनले सर्वाधिक ११ स्कोर गरिन् । समूह ‘एच’ मा भ्याली पब्लिक ‘बी’ ले इडन ब्रिज एकेडेमीलाई २२–१७ स्कोरले हरायो । सानीमाया तामाङले १० स्कोर जोडिन् ।
सिनियर र जुनियर ब्वाइज दुवैमा भ्याली पब्लिकले भद्रकालीलाई हरायो । सिनियरमा भ्याली पब्लिक ‘ए’ ले भद्रकालीलाई ४७–३२ ले पराजित गर्दा अशोक बिकले २६ स्कोर गरे । समूह ‘ए’ मा आयोजक ‘ए’ टोली र भद्रकालीसहित बेलमन्ट र ग्रिनल्यान्ड छन् । जुनियरमा आयोजक भ्यालीले भद्रकालीलाई १४–९ स्कोरले हरायो । विजेताका पूर्णराज तामाङले ९ स्कोर गरे । यो समूह ‘एफ’ का अरू टोलीमा एन्जल हार्ट र राजन मेमोरियल छन् । इडेन ब्रिजले सेन्ट जोसेफलाई २१–१५ र बीएनएले बीएमसीएलाई ३१–२४, क्यानभासले किङडमलाई १८–१४ स्कोरले हराए ।
सिनियर ब्वाइजमा हेराल्डले भ्याली ‘बी’ लाई १९–१४, रेडियन्टले सेन्ट जोसेफलाई २०–१६ र जिनियस वर्ल्डले क्यानभासलाई २७–२२ स्कोरले हराए ।
गर्ल्सतर्फ हिमशिलाले क्यानभासलाई १८–१४, फेरिल्यान्डले नेक्ससलाई १४–९ र त्रिज्योतिले एन्जल्स एनएचएसलाई १८–१३ स्कोरले हराए ।
प्रतियोगिताको भ्याली पब्लिक हाइस्कुलका अध्यक्ष मेजर लिलबहादुर गुरुङले रेफ्री दीपेशलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरे । प्रतियोगिता मंसिर २९ सम्म चल्नेछ ।
