एक सातादेखि रिक्त सदस्य–सचिवमा युवा तथा खेलकुद मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि सहसचिव मेहतालाई जिम्मेवारी दिएको हो ।
काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवका रूपमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहताले पदभार ग्रहण गरेका छन् । एक सातादेखि रिक्त सदस्य–सचिवमा युवा तथा खेलकुद मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि सहसचिव मेहतालाई जिम्मेवारी दिएको हो ।
खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम अर्को व्यवस्था नभएसम्म मन्त्रालयको १६ मंसिरको निर्णयअनुसार जिम्मेवारी दिइएको हो । यही मंसिर १२ गते टंकलाल घिसिङले आफ्नो चारवर्षे कार्यकाल पूरा गरेपछि सदस्यसचिव पद रिक्त थियो ।
परिषद्मा पदभार ग्रहण गर्ने क्रममा कर्मचारीलाई सदस्य सचिव मेहताले सुशासन र पारदर्शी रूपमा कानुनसम्मत कार्य सम्पादन गर्न निर्देशन दिए । उनले आफू पदमा रहुन्जेल परिषदमा नमुना योग्य काम गर्ने पनि बताए ।
परिषदका कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई र कर्मचारी संघका अध्यक्ष सरस्वती केसीले दसौं राष्ट्रिय खेलकुद तथा संगठन संरचना र व्यवस्थापन सर्भेलगायतका काम प्रमुख दायित्व भएको चर्चा गरेका थिए ।
मेहतालाई शुक्रबार परिषद्मा कार्यकारी समिति सदस्य कमल भट्टराई, भानबहादुर चन्द, सदस्यहरू, परिषद्का विभाग र शाखा प्रमुख तथा कर्मचारीले स्वागत गरेका थिए ।
