मंसिर २० मा नेपालगन्जको बीपी चोकबाट सुरु हुने प्रतियोगितामा पाँच विधामा प्रतिस्पर्धा गराउने तयारी छ।
नेपालगन्ज — आठौं मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताका विजेताले २५ हजार पुरस्कार पाउने भएका छन् । गत वर्षभन्दा यो वर्ष पुरस्कार राशि घटाइएको छ ।
सातौं संस्करणलाई ५० हजार पुरस्कार राखिएको थियो । मंसिर २० गते नेपालगन्जको बीपी चोकबाट सुरु हुने प्रतियोगितामा पाँच विधामा प्रतिस्पर्धा गराउने तयारी गरिएको छ। ३६ किलोमिटरको एमटीबी खुल्ला दौडका विजेतालाई २५ हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार पुरस्कार राखिएको छ। यो विधामा राष्ट्रिय खेलाडीसहित १९ जनाले प्रतिस्पर्धा गर्दै छन्।
बाँकेका खेलाडीले मात्रै सहभागी हुन पाउने दुई वटा विधा राखिएको छ। जसमा पुरुषमा २२ किलोमिटर र महिलाको १६ किलोमिटर दौड रहेको छ। ७८ जना सहभागी पुरुष र ९ जना सहभागी महिला दौडका विजेतालाई १० हजार, ७ हजार र ५ हजार पुरस्कार राखिएको छ।
२५ किलोमिटरको एमटीबी खुल्ला महिलातर्फ ८ जना सहभागी हुँदै छन्। यो विधामा प्रथमलाई २० हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार पुरस्कार राखिएको छ।
४५ वर्षमाथिकालाई समेटिएको एमटीबी मास्टरका विजेतालाई १५ हजार, २० हजार र ७ हजार पुरस्कार राखिएको छ। २५ किलोमिटरको यो विधामा १६ जनाले प्रतिस्पर्धा गर्दै छन्।
आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले नेपालगन्ज उपमहानगरपालिकाको २ लाख ७५ हजार सहयोगमा प्रतियोगिता आयोजना गरिएको बताए। उनले प्रतियोगितामा ३ लाख ३५ हजार खर्च हुने जानकारी दिए।
