राष्ट्रिय जागृतिको जितमा प्रवेश बस्नेत र योगेन्द्र कार्कीले गोल गरे
सुनसरी — राष्ट्रिय जागृति क्लब अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
मोरङको सुन्दरहरैचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा झापाको दमक फुटबल एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै राष्ट्रिय जागृतिले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
राष्ट्रिय जागृतिको जितमा प्रवेश बस्नेत र योगेन्द्र कार्कीले गोल गरे । खेलको ११ औँ मिनेटमा प्रवेशको गोलबाट अग्रता भएको जागृतिको तर्फबाट ३९ औँ मिनेटमा योगेन्द्रले अग्रता दोब्बर बनाएर टिमलाई जिताए । खेलको प्लेयर अफद म्याच विजयी टिमका योगेन्द्र घोषित हुँदै नगद ५ हजार १ सय रुपैयाँ हात पार्न सफल भए ।
बिहीबारको खेलसँगै गोल्डकपको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । शुक्रबार हुने पहिलो सेमिफाइनल खेलमा सिराहाको सहलेस फुटबल क्लब गाईघाट युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो तथा अन्तिम सेमिफाइनलमा शनिबार आयोजक गछिया युवा समाजले राष्ट्रिय जागृतिको सामना गर्नेछ । मंसिर २२ गते हुने फाइनल खेलको विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ ।
