बिहीबारको अन्तिम सेमिफाइनलमा मेरिङदेनले पाथीभरा याङवरक गाउँपालिकालाई ५-० गोलले स्तब्ध पार्दै फुङलिङ नगरपालिकासँगको भेट पक्का गरेको हो ।
What you should know
ताप्लेजुङ — सदरमुकाम फुङलिङस्थित भानुजन माविको मैदानमा जारी कञ्चनजंघा सेसेलुङ महिला गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा मेरिङदेन गाउँपालिका र फुङलिङ नगरपालिका भिड्ने भएका छन् । बिहीबारको अन्तिम सेमिफाइनलमा मेरिङदेनले पाथीभरा याङवरक गाउँपालिकालाई ५-० गोलले स्तब्ध पार्दै फुङलिङ नगरपालिकासँगको भेट पक्का गरेको हो ।
मेरिङदेनका तर्फबाट कप्तान अनुष्का शेर्पाले ह्याट्रिक गर्दा सुष्मा लिम्बू र मनिता तामाङले १-१ गोल गरे । अनुष्काले पहिलो हाफको २५ औं मिनेटमा गोलको खाता खोलिन् ।
उनले सिम्रोन राईले हानेको कर्नर किकलाई सदुपयोग गर्दै जाली चुमाएकी हुन् । तत्कालै २६औं मिनेटमा सुष्माले अर्को गोल थपिन् भने दोश्रो हाफको ५७औं मिनेटमा मनिता तामाङले तेस्रो गोल गरिन् । अनुष्काले ६५ र ८० औं मिनेटमा थप दुई गोल थपिन् । मेरिङदेन १ खाम्लुङ घर भएकी अनुष्का नेपाल पुलिस क्लबकी खेलाडी हुन् । यो प्रतियोगिताको अहिलेसम्मको खेलमा सबैभन्दा बढी स्कोर मेरिङदेनले निकालेको छ ।
बिहीबार म्यान अफ द म्याच भने मनिता तामाङ भइन् । उनले पाँच हजार प्राप्त गरिन् । फाइनल खेल २० गते शनिबार हुनेछ । फुङलिङ मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।
लिम्बू समुदायको चाड चासोक तङ्नाम (न्वागी पुजा) को अवसरमा आयोजित प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख दुई हजार र उपविजेताले एक लाख दुई हजार प्राप्त गर्ने छन् । कञ्चनजंघा फुङलिङ क्लब र याङवरक सङजम्बो फुङलिङले पालिका स्तरीय प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगितामा नौमध्ये आठ पालिकाको सहभागिता रहेको छ ।
