एनकेएल अन्तरस्कुल कबड्डी छनोट हुने

उपत्यका छनोट प्रतियोगिता थिमिस्थित मिडभ्याली सेकेन्डरी स्कुलमा दुई दिन चल्नेछ ।

मंसिर १७, २०८२

कान्तिपुर संवाददाता

NKL Inter-School Kabaddi Selection to be held

काठमाडौँ — केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले खेलाडी उत्पादनको उद्देश्यले एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप गर्ने भएको छ । यसका लागि काठमाडौं उपत्यका छनोट प्रतियोगिता आइतबार सुरु हुँदै छ ।

उपत्यका छनोट प्रतियोगिता थिमिस्थित मिडभ्याली सेकेन्डरी स्कुलमा दुई दिन चल्नेछ । त्यसमा आठ स्कुलले नकआउटको आधारमा प्रतिस्पर्धा गर्नेछन् । काठमाडौं उपत्यका छनोट विजेता टिम राष्ट्रिय स्तरको एनकेएल इन्टर स्कुल कबड्डी च्याम्पियनसिपको फाइनल चरणमा प्रवेश गर्नेछ ।

क्षेत्रीय स्तरमा छनोट प्रतियोगिता पोखरा, विराटनगर, बुटवल, धनगढी र जनकपुरमा पनि आयोजना गरिनेछ । प्रत्येक क्षेत्रका छनोटका विजेता गरी कुल ६ टिमले एनकेएल सिजन २ कै अवसरमा हुने एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिपको फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

एनकेएल सिजन २ को तयारीमा रहेको एस्ट्रोनिक्स म्यानेजमेन्टले कबड्डीलाई ग्रासरुट स्तरबाटै विकास गर्ने प्रयासमा एनकेएल इन्टर स्कुल कबड्डी च्याम्पियनसिप गर्न लागेको आयोजकले जनाएको छ ।

यस प्रतियोगिताले नेपाली कबड्डी र एनकेएलप्रति आकर्षण बढ्ने आशा गरिएको एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले बताए ।

बेगानी ग्रुपको एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघको स्वीकृतिमा केबी साम एनकेएलको पहिलो संस्करण गत वर्ष आयोजना गरेको थियो । एनकेएल सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै घोषणा गरिने जनाइएको छ ।

कान्तिपुर

Link copied successfully