लामो मात्र नभएर दुवै गालातिर फुक्क फिँजारिएको राजस्थानी शैलीको अनौठो निक्खर कालो जुङ्गाका कारण उनलाई सबैले सोधखोज गर्छन् । उनीसँगै तस्बिर खिचाउने, सेल्फी लिने पनि उत्तिकै हुन्छन् ।
What you should know
कपिलवस्तु — उनी हुन्– कालीकोटको नरहरिनाथ गाउँपालिका–९, लालुगाउँका बिन्दमान लामिछाने । २९ वर्षका उनी बडी बिल्डिङ र वेटलिफ्टिङका राम्रा खेलाडी हुन् । खेल खेलेरै देश विदेशमा पुरस्कार पनि हात पारेका छन् । तर उनी एक वर्षयता खेलाडीभन्दा पनि जुङ्गाका कारण चर्चामा छन् ।
उनको आकर्षक र घुम्रिएको जुङ्गाका कारण उनलाई सबैले चिन्छन् । जहाँ पुग्छन्, उनलाई पछ्याउने बढी हुन्छन् । जुङ्गाका कारण उनी सबैको रोजाइमा पर्छन् । सोधखोज गर्छन् । माया गर्छन् । जुङ्गासँगै कपाल पनि आकर्षक छ । कपालको स्टाइल र जुङ्गासँग म्याच गर्दा अझ राम्रा देखिन्छन् ।
जुङ्गाका कारण उनको नामै परिवर्तन भएको छ । उनी आजभोलि जुङ्गे जज भनेर चिन्छन् । कारण उनी स्ट्रेन्थलिफ्टिङ खेलको राष्ट्रिय जज हुन् । उनी मंसिर १२ र १३ गते आयोजित प्रथम कपिलवस्तु तिलौराकोट आइरन मेन एण्ड ओमन कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा इनक्लाइन बेन्च प्रेस प्रतियोगिताको जर्ज भएर जाँदा सबैको आकर्षणमा परे ।
लामो मात्र नभएर दुवै गालातिर फुक्क फिँजारिएको राजस्थानी शैलीको अनौठो निक्खर कालो जुङ्गाका कारण उनलाई सबैले सोधखोज गर्छन् । उनीसँगै तस्बिर खिचाउने, सेल्फी लिने पनि उत्तिकै छन् । उनी स्ट्रन्थलिफ्टिङ खेल प्रतियोगिताको जज गर्दै झापा, पश्चिम नवलपरासी, बाँके र रूपन्देही लगायत पुगेका छन् ।
एक वर्षदेखि जुङ्गा पाल्न थालेका उनी भन्छन्, ‘मलाई खेलभन्दा जुङ्गाकै बारेमा सोधखोज गर्ने बढी हुन्छन् । त्यही भएर राम्रो काम गरेँ कि जस्तो लाग्छ ।’ धेरैको उत्साह र प्रोत्साहनका कारण पनि उनी जुङ्गा पाल्न उत्सुक छन् । अहिले उनी संघीय राजधानी काठमाडौंमा बस्छन् । ‘जहाँ पुगे पनि जुङ्गाकै कारण चर्चा हुन्छ,’ उनले भने । 
देख्दा जुङ्गा पाल्न सामान्य लागे पनि निकै समय र खर्च लाग्ने उनले बताए । ‘जुङ्गा दैनिक स्याम्पु लगाए धुनु पर्छ । साताको दुई पटक सैलुन गएर मिलाउनु पर्छ,’ उनले भने, ‘एकपटकमा ४ सय रुपैयाँ खर्च हुन्छ । यसले आम्दानीको सानो अंश जुङ्गा व्यवस्थापनमै खर्च हुन्छ ।’ उता खाना खाजा खाँदा पनि जुङ्गाले समस्या हुन्छ । खानेकुरा जुङ्गामा लाग्छ । सफा गर्न छुट्टै न्याप्किन पेपर लिएर बस्नु पर्छ । ‘अन्यले जस्तो छिटो खान सकिँदैन,’ उनले भने, ‘ध्यान पुर्याएर समय दिएर खानु पर्छ ।’
तीन वर्षअघि अन्तर्राष्ट्रिय स्ट्रन्थलिफ्टिङ प्रतियोगितामा भाग लिन भारतको राजस्थान गएका बेला त्यहाँ जुङ्गा पालेको देखे । ‘भारतीय कुख्यात चन्दन तस्कर विरप्पनले पनि यस्तै जुङ्गा पालेको देखेको थिएँ,’ उनले भने, ‘उनको अपराध कर्म नराम्रो भए पनि जुङ्गा राम्रो थियो ।’ राजस्थान भ्रमणपछि उनकै जुङ्गाबाट प्रभावित भएर आफूले जुङ्गा पाल्न थालेको उनले बताए ।
वास्तवमा जुङ्गाबाट पनि मानिसको पहिचान स्थापित गर्न सकिन्छ भन्ने लाग्दा खुसी लागेको छ । ‘जहाँ पुग्यो, त्यहाँ मान सम्मान राम्रो पाएको छु । जुङ्गाले नै आफ्नो सान बढेको छ । मान थापेको छु । यसले गर्वको महसुस हुन्छ । यो भन्दा बढी के चाहियो ?’ उनले थपे ।
स्ट्रेन्थलिफ्टिङ महासंघमा पनि लामिछानेको जुङ्गाको राम्रै चर्चा हुने गरेको नेपाल स्ट्रेन्थलिफ्टिङ महासंघका केन्द्रीय महासचिव जीवन गिरीले बताए । जुङ्गाकै कारण उनको परिचय नै फेरिएको छ । सामान्य लाग्ने जुङ्गाको महत्त्व उनले देखाएका छन् । उनलाई जहाँसुकै चिनिन सहज भएको छ उनले भने हाम्रो महासंघको पनि गरिमा बढाएको छ ।
