पहिलो सेमिफाइनलमा आज फुङलिङ नगरपालिका र मैवाखोला गाउँपालिका बीच दिउँसो २ बजे हुने छ।
ताप्लेजुङ — कञ्चनजङ्गा सेसेलुङ महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल बुधबारदेखि सुरु हुँदैछ । पहिलो सेमिफाइनलमा आज फुङलिङ नगरपालिका र मैवाखोला गाउँपालिका बीच दिउँसो २ बजे हुने छ।
फुङलिङले फक्ताङलुङ गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने मैवाखोलाले सिरिजङ्गा गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।
हिजो मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा सिदिङ्वा गाउँपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै मेरिङ्देन सेमिफाइनलमा पुगेको छ । मेरिङ्देनले फाइनल प्रवेशका लागि भोलि पाथीभरा याङवरक गाउँपालिकासँग खेल्नेछ । पाथीभरा याङवरकले आठराई त्रिवेणी गाउँपालिकालाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
लिम्बूहरूको महान चाड ‘चासोक तङ्नाम (न्वागी पूजा)’ को अवसरमा आयोजित प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख दुई हजार र उपविजेताले एक लाख दुई हजार रुपैयाँ प्राप्त गर्नेछ । ‘म्यान अफ द म्याच’ हुनेले जनही पाँच हजार, विधागततर्फ उत्कृष्ट हुने सबै खेलाडीलाई जनही आठ हजार र सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
