कञ्चनजंघा सेसेलुङ महिला गोल्डकप : फुङलिङ फाइनलमा

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित भानुजन माविको मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा मैवाखोला गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै फुङलिङ फाइनल प्रवेश गरेको हो ।

मंसिर १७, २०८२

आनन्द गौतम

Kanchenjunga Seselung Women's Gold Cup: Phungling in the final

ताप्लेजुङ — फुङलिङ नगरपालिका कञ्चनजंघा सेसेलुङ महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । 

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित भानुजन माविको मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा मैवाखोला गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै फुङलिङ फाइनल प्रवेश गरेको हो । फुङलिङको तर्फबाट समीक्षा मगरले दुई गोल गरेकी हुन् । उनले दोस्रो हाफको ५२ औं मिनेटमा पहिलो र अतिरिक्त समयमा दोस्रो गोल गरिन् । उनले दुवै गोल पेनाल्टी एरियाबाटै एक्लैले लगेर जाली चुमाएकी थिइन् । 

बुधवारको म्यान अफ द म्याच पनि उनै समीक्षा भइन् । उनले फुङलिङ नगरपालिका उपप्रमुख भिमादेवी ओझाबाट पाँच हजार नगद पुरस्कार थापिन् । 

फुङलिङले चारजना जिल्ला बाहिरका खेलाडी मैदान उतारेको थियो भने मैवाखोलाले आफ्नो पालिकाका मात्रै खेलाडीलाई खेलाएको थियो । 

फुङलिङले अब उपाधि जित्नका लागि बिहीबारको विजेतासँग खेल्नुपर्ने छ । बिहीबार मेरिङ्देन र पाथीभरा याङवरक गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । मेरिङदेन सिदिङवा गाउँपालिकालाई २–० र पाथीभरा याङवरक आठराई त्रिवेणी गाउँपालिकालाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।    

लिम्बू समुदायको चाड चासोक तङ्नाम (न्वागी पूजा) को अवसरमा आयोजित प्रतियोगिताको फाइनल २० गते हुनेछ । विजेताले ट्रफीसहित दुई लाख दुई हजार र उपविजेताले एक लाख दुई हजार प्राप्त गर्ने छन् । 

कञ्चनजंगा फुङलिङ क्लब र ङावरक सङजम्बो फुङलिङले पालिकास्तरीय प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगितामा नौमध्ये आठ पालिकाको सहभागिता रहेको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully