गुल्मीको इस्मामा अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट मैदान तयार, छिट्टै प्रतियोगिता हुँदै

इस्मा गाउँपालिकाको गौरवको योजनाका रूपमा पार्कसहित क्रिकेट मैदान तयार गरिएको गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले बताए ।

मंसिर १७, २०८२

सन्तोष महतारा

International standard cricket field ready at ISMA, Gulmi, tournament to be held soon

गुल्मी — इस्मा गाउँपालिकामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्रिकेट मैदान तयार भएको छ । मदन भण्डारी राजमार्गको तम्घास-छल्दी-सिमलटारी खण्डको छेवैमा झर्नास्थित जैढुंगा बीपी पार्कमा क्रिकेट मैदान तयार भएको हो ।

आर्थिक वर्ष २०७९/८० मा पहिलो चरणमा पाँच लाख रुपैयाँको काम भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा एक करोड रुपैयाँ बराबरको काम भएको थियो । त्यसपछि आर्थिक वर्ष २०८१/०८२ मा एक करोड २३ लाख रुपैयाँ बराबरको काम भएको गाउँपालिका प्रवक्ता तथा उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले जानकारी दिइन् । उनका अनुसार, खेलमैदानमा सुरुवाती शून्य चरणबाटै काम सुरु गरिएको हो ।

खेलमैदानसहितको पार्कमा माटो बिछ्याउने, बाल लगाउने, ग्याभिन जाली, तारजाली, घेराबार, बगैंचा निर्माण, पिकनिकका लागि संरचना तयार, फलफूलका बिरुवा रोपण, पिउने पानीको व्यवस्था, पार्किङ स्थल व्यवस्थापन र सम्पूर्ण तरिकाबाट खेल मैदान व्यवस्थापन गरिएको थियो ।

इस्मा गाउँपालिकाको गौरवको योजनाका रूपमा पार्कसहित क्रिकेट मैदान तयार गरिएको गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले बताए । 'हामीले पालिकाको गौरवको योजनाका रुपमा पार्क निर्माण गरेर क्रिकेट मैदान तयार गरेका छौं,' उनले भने, 'अब लगत्तै क्रिकेट प्रतियोगिता संचालन हुँदैछ ।'

सोही क्रिकेट मैदानमा परिवर्तन युवा क्लबले मंसिर २० देखि २२ गतेसम्म खुला पालिकास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ । १२ टिमबीच प्रतिस्पर्धा गराइने प्रतियोगितामा मुख्य प्रायोजक इस्मा गाउँपालिका रहेको छ।

विजेताले ५५ हजार नगदका साथ कप, मेडल र प्रमाणपत्रका साथै उपविजेताले २५ हजार नगद, मेडल र प्रमाणपत्र पाउने खेल संयोजक आशिष पन्थीले जानकारी दिए ।

सन्तोष महतारा

Link copied successfully