मंसिर २२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
सुनसरी — उदयपुरको गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मोरङको सुन्दरहरैचास्थित गछिया बजार खेल मैदानमा बुधबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा झापाको जलथल फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै गाईघाट युनाइटेडले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट दिइएको थियो। पेनाल्टी सुटआउटमा गाईघाटका तर्फबाट विवेक राई, विकु राई, विनोद राई र अजित चौधरीको प्रहार गोलमा परिणत भएको थियो। जलथलका लागि आयुस तामाङको प्रहार मात्र गोलमा परिणत भएको थियो। सनम राई र आयुस राईको प्रहार खेर गएको थियो।
त्यसअघि निर्धारित समयको २७ औं मिनेटमा निषकुमार श्रेष्ठको गोलबाट जलथलले अग्रता लिएको थियो। तर त्यसको एक मिनेट नबित्दै गाईघाटका विनोद राईले गोल फर्काएर खेललाई बराबरीमा ल्याएका थिए।
खेलको प्लेयर अफ द म्याच गाईघाट युनाइटेडका गोल रक्षक रेम्बो चौधरी घोषित हुँदै नगद ५ हजार १ सय रुपैयाँ हात पार्न सफल भए। गछिया युवा समाजको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत बिहीबार हुने अन्तिम क्वार्टरफाइनल खेलमा इटहरीको राष्टिय जागृति क्लब र दमक फुटबल एकेडेमीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। मंसिर २२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
