काभ्रेको साँगास्थित नेपाल पुलिस स्कुलमा सञ्चालन भएको प्रतियोगिता उद्घाटन नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक हिमालयकुमार श्रेष्ठले गरेका हुन् ।
What you should know
काभ्रे — ३१ औं अन्तर माध्यमिक विद्यालय आईजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता बुधबारबाट सुरु भएको छ । काभ्रेको साँगास्थित नेपाल पुलिस स्कुलमा सञ्चालन भएको प्रतियोगिता उद्घाटन नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक हिमालयकुमार श्रेष्ठले गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै अतिरिक्त महानिरीक्षक श्रेष्ठले विद्यालयले अतिरिक्त क्रियाकलाप तथा खेलकुदका गतिविधिहरूलाई प्राथमिकतामा राखी शैक्षिक गतिविधिहरू संचालन गर्दै आइरहेको बताए । यस्ता प्रतियोगिताहरू केवल खेलकुद कार्यक्रम मात्र नभई समग्र रूपमा विद्यार्थीहरूको अनुशासन, सामूहिक भावना, नेतृत्व क्षमता र खेल भावना प्रदर्शन गर्ने महत्वपूर्ण मञ्च भएको उनको भनाइ थियो । यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा, क्षमता र आत्मविश्वासलाई उजागर गर्ने उनको विश्वास छ ।
प्रतियोगिताअन्तर्गत नेपाल पुलिस स्कुल साँगा (रातो) टिम र पिस प्वाइन्ट स्कुल बानेश्वरबीच भएको उद्घाटन खेल शून्य–शून्यको बराबरीमा समाप्त भएको छ । प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र निलो टिम, नेपाल पुलिस स्कुल धरान, चितवन र सामाखुसी, सैनिक आवासीय माध्यमिक विद्यालय, सशस्त्र प्रहरी विद्यालयलगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १४ विद्यालयका १५ टिमको सहभागिता रहेको छ ।
विजेता टिमहरूले ट्रफीसहित नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमशः ६० हजार, ४० हजार र २० हजार रुपैयाँ जित्नेछन् । साथै, उत्कृष्ट खेलाडीहरूलाई व्यक्तिगत विधामा विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
