सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा बुधबार पुरुष ५८ केजीमुनि तौल समूहमा उनले आर्मीका विकास राईलाई हराएर पदक जिते ।
काठमाडौँ — नेपाल पुलिस क्लबका सुमित विष्टले १३ औं कोरियन एम्बासडर तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा बुधबार पुरुष ५८ केजीमुनि तौल समूहमा उनले आर्मीका विकास राईलाई हराएर पदक जिते । सुमित मिसन २०२६ को विशेष प्रशिक्षणमा रहेका खेलाडी हुन् । एपीएफ क्लबका रुपेश तामाङ र एप्सुलुट तेक्वान्दो डोजाङका सुजन गुरुङले कांस्य पदक जिते ।
सिनियर महिला ४६ केजीमुनि तौलमा एपीएफकी अञ्जलीकुमारी साउदले फाइनलमा आर्मीकी सन्तोषी राईलाई पराजित स्वर्ण जितिन् । पुलिसकी प्रकृति पाली र बरहथवा डोजाङकी जस्मिन गुरुङले कांस्य जिते । जुनियर पुरुष ४८ केजीमुनि आइतराम डोजाङका निशान प्याकुरेलले स्वर्ण, कञ्चनपुरका समिर कुँवरले रजत तथा राजदेवी डोजाङका प्रमिश राई र कञ्चनपुरका भूपेन्द्र ठाकुरले कांस्य पदक जितेका थिए ।
जुनियर महिला ४९ केजीमुनि सुनसरीको राजदेवी डोजाङकी रिसिका भुजेलले स्वर्ण जित्दा लाइन्स मार्सल आर्ट्सकी सोनिया तामाङले रजत जितिन् । फेयरलेस डोजाङकी खुशी तामाङ र हिमशिखर स्कुलकी सुहाना श्रेष्ठले कांस्य जिते ।
छात्र २९ केजीमुनि तौलमा स्वस्तिक डोजाङका प्रसिद्ध तामाङले स्वर्ण, श्रीसिद्धार्थ डोजाङका रोचक पुडासैनीले रजत तथा बरहथवाका प्रसान यादव र श्रीसिद्धार्थकै आरुस थापाले कांस्य पदक जिते ।
च्याम्पियनसिप मंसिर २० सम्म चल्नेछ ।
