रामपुरस्थित भम्बक युनाइटेड युथ क्लबले दोस्रो पटक आयोजना गरेको प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ ।
What you should know
पाल्पा — पाल्पाको रामपुर नगरपालिकाको भम्बक, रामपुरमा क्लबस्तरीय आमन्त्रित भलिबल प्रतियोगिताको मंगलबार सम्पन्न उद्घाटन खेलमा पाल्पा भलिबल संघले विजयी सुरुवात गरेको छ ।
पाल्पाले न्यू होराइजन स्पोर्टस क्लब रुपन्देहीलाई ३-० को सेटमा पराजित गरेको हो । उसले २५-२१, ३०-२८ र २५-२१ को सेटमा हराएको छ । उद्घाटन खेलमा प्लेयर अफ दि म्याच पाल्पाका रेशम विक भए ।
लिक कम नक आउटको आधारमा खेलाइएको प्रतियोगिताको लुम्बिनी प्रदेशसभा सदस्य राजु श्रेष्ठले उद्घाटन गरेका हुन् । रामपुरस्थित भम्बक युनाइटेड युथ क्लबले दोस्रो पटक आयोजना गरेको प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ । प्रतियोगिता मंसिर २० गतेसम्म संचालन हुनेछ ।
प्रतियोगितामा जिल्ला भलिबल संघ पाल्पा, सशस्त्र प्रहरी बल (एपीएफ) कास्की पोखरा, आयोजक भम्बक युनाइटेड युथ क्लब, जिल्ला भलिबल संघ नवलपुर, होराइजन भलिबल क्लब रूपन्देही, शुक्लगण्डकी भलिबल क्लब तनहुँ, मणिमुकुन्द भलिबल क्लब, रूपन्देही र जिल्ला भलिबल संघ स्याङ्जाले प्रतियोगितामा सहभागिता जनाएको खेल संयोजक अनुप मल्लले जानकारी दिए ।
रामपुर नगरपालिकाको संरक्षणमा भम्बक युनाइटेड युथ क्लबले आयोजना गरेको प्रतियोगितामा पहिलो हुनेले नगद २ लाख नगद पुरस्कार पाउनेछ । दोस्रो हुनेले १ लाख, तेस्रो हुनेले ५० हजार र सान्तवनालाई ३० हजार नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
उत्कृष्ट खेलाडीलाई नगद १० हजार पाउनेछ । उत्कृष्ट स्पाइकर, लिब्रो, सेटर, सर्भर, मिड ब्लकरलाई ५–५ हजार नगद पुरस्कार व्यवस्था गरिएको क्लबका अध्यक्ष बालकृष्ण कुमालले बताए ।
प्रतियोगिता आयोजना गर्न जिल्ला भलिबल संघको समन्वय, रामपुर उद्योग वाणिज्य संघ, नगर खेलकुद विकास समितिको सहकार्यमा सञ्चालन गरिएको हो ।
