सहलेसले बेलबारी फुटबल क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्यो
सुनसरी — सिरहाको सहलेस क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मोरङको सुन्दरहरैंचास्थित गछिया बजारको मैदानमा सोमबार सम्पन्न उद्घाटन खेलमा सहलेसले बेलबारी फुटबल क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
सहलेसलाई जिताउन रोमन भुजेलले गोल गरे । देवेन्द्र तामाङ, शिशिर लेखी र अबोयामी फकुन्ले जस्ता विदेशी खेलाडी लिएर मैदान उत्रिएको सहलेसका लागि खेलको ५५ औँ मिनेटमा भुजेलले गरेको गोल नै निर्णायक बन्यो । सहलेस अघिल्लो चरणको यात्रा तय गराउन निर्णायक गोल गरेका भुजेल खेलको ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद ५ हजार १ सय रुपैयाँ हात पार्न सफल भए ।
सोमबार हुने दोस्रो क्वार्टरफाइनल खेलमा आयोजक गछिया युवा समाजले पाहुना टोली लिजेन्ड फुटबल क्लब पश्चिम बङ्गाल भारतको सामना गर्नेछ । ‘लागूऔषधले लिन्छ ज्यान, गछिया युवा समाजको आह्वान, स्वास्थ्य रहन खेलकुदमा ध्यान’ भन्ने नारा सहित सुरु भएको गोल्डकप मंसिर २२ गतेसम्म चल्नेछ ।
विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ नगद पुरस्कार पाउने गोल्डकपमा एक भारतीयसहित ८ टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार र विधागत उत्कृष्ट हुने खेलाडीलाई जनही ११ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
