सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा फक्ताङलुङलाई पराजित गरेको नगरपालिकाले मैवाखोला गाउँपालिकासँगको भेट पक्का गरेको हो ।
ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दै फुङलिङ नगरपालिका कञ्चनजंघा सेसेलुङ महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा फक्ताङलुङलाई पराजित गरेको नगरपालिकाले मैवाखोला गाउँपालिकासँगको भेट पक्का गरेको हो ।
दोस्रो हाफको सुरुवातमै नगरपालिकाको तर्फबाट सम्झना लावतीले गोलको खाता खोलिन् । टिम क्याप्टेन अनुसा थेवेले हानेको कर्नर किकलाई सम्झनाले खेलको ४५ औं मिनेटमा जाली चुमाएकी थिइन् ।
त्यसको चार मिनेटपछि ४९ औँ मिनेटमा सम्झनाको पासलाई उपयोग गर्दै सुजता लिम्बुले दोस्रो गोल गरिन् । दोस्रो हाफपछि आक्रामक उपस्थिति देखाएको नगरपालिकाले ५४ औँ मिनेटमा तेस्रो गोल गर्यो । तेस्रो गोल समीक्षा मगरको नाममा रह्यो । प्रतियोगिताको प्लेयर अफ द म्याच फुङलिङकी सम्झना बनिन् । उनले नगद ५ हजार पाइन् ।
मंगलबार हुने अन्तिम क्वार्टरफाइनल खेल सिदिङ्वा र मेरिङ्देन गाउँपालिकाबीच हुनेछ ।प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख दुई हजार र उपविजेताले एक लाख दुई हजार र ट्रफी प्राप्त गर्नेछ ।
म्यान अफ द म्याचलाई पाँच हजार, विधागततर्फ उत्कृष्ट हुने सबै खेलाडीलाई आठ हजार र सर्वोत्कृष्ट खेलाडीलाई १० हजार पुरस्कार राखिएको छ । चासोक तङनामको अवसरमा कञ्चनजंघा फुङलिङ क्लब र ङावरक सङजम्बो फुङलिङको आयोजनामा सञ्चालित प्रतियोगिताको फाइनल मंसिर २० गते हुने छ ।
