नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको यूएई करवान मैदानमा ४५.५ ओभरमा १ सय ४७ रनमा अलआउट भएको थियो । तर जवाफमा आएको नेपाल पनि ३३.२ ओभरमा १ सय २० रनमा अलआउट भएपछि यूएईले उपाधि जितेको हो ।
What you should know
काठमाडौँ — नेपाल एसीसी यू-१९ प्रिमियर कपको उपविजेतामै सीमित भएको छ । सोमबार भएको फाइनलमा नेपाललाई घरेलु टोली यूएईले अजमानमा २७ रनले पराजित गर्यो ।
नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको यूएई करवान मैदानमा ४५.५ ओभरमा १ सय ४७ रनमा अलआउट भएको थियो । तर जवाफमा आएको नेपाल पनि ३३.२ ओभरमा १ सय २० रनमा अलआउट भएपछि यूएईले उपाधि जितेको हो ।
यूएईका ओपनिङ बलरद्वय युगजय शर्मा र अली अस्गर सुम्सले ३–३ विकेट लिए । युगजयले ९ ओभरमा २ मेडन राख्दै ३७ र अली अस्गरले १० ओभरमा २ मेडन राख्दै १८ रन खर्चेका थिए । त्यस्तै उदिस सुरी र नुर उल्लाह अयोबीले २–२ विकेट लिए ।
ओपनर निरजकुमार यादव तथा निश्चल क्षेत्री १–१ रनमा आउट भएपछि नेपाल सुरुआतदेखि दबाबमा खेलेको थियो । दर्श सुनारले पनि खाता खोल्न सकेनन् । अर्का ओपनर वंश क्षेत्रीले ११ रन बनाए । आशिष लुथर र अशोक धामीले पाँचौँ विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए ।
लुथरले ४० बल खेली ४ चौकासहित २५ रन बनाए । चन्दन राम १ रनमै आउट भएपछि कप्तान अशोक धामीले इनिङ्स तानेका थिए । उनले ६६ बल खेलि ४ चौका प्रहार गरे । रोशन विश्वकर्माले १६ बल खेली १ चौका र २ छक्काका साथ २५ रन बनाए । अपराजित पौडेल ६ र दयानन्द मण्डल शून्यमा आउट भए । नितेशकुमार पटेल ८ रनमा अविजित रहे ।
यसअघि यूएईबाट अहमद खुदादादले ७१ रन बनाएका थिए । प्लेयर अफ द म्याच उनले १ सय २६ बल खेली ६ चौका प्रहार गरे । अयोबीले ४७ बल खेली समान २ चौका र छक्कासहित २६ तथा आयन मिसबाहले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।
नेपालबाट दयानन्दले ६ विकेट लिएका थिए । उनले ६.५ ओभरमा २ मेडन राख्दै १७ रन खर्चेका थिए । अपराजितले १० ओभरमा ३९ रन खर्चेर २ तथा नितेश र अशोकले १–१ विकेट लिए ।
फाइनलमा पुग्दै यूएई र नेपाल एसीसी यू–१९ एसिया कपका लागि छनोट भइसकेका थिए ।
