कञ्चनजंघा सेसेलुङ महिला गोल्डकप : पाथीभरा याङवरक सेमिफाइनलमा 

भानुजन माविको मैदानमा आइतबार भएको प्रतियोगिताको निर्धारित समयमा दुवैले समान एक/एक गोल गरेपछि छिनोफानो ट्राइबेकरमा पुग्नुपर्‍यो ।

मंसिर १४, २०८२

आनन्द गौतम

Kanchenjunga Seselung Women's Gold Cup: Pathibhara Yangwarak advances to semifinals

ताप्लेजुङ — आठराई त्रिवेणी गाउँपालिकालाई ट्राइब्रेकरमा ३–१ गोलले पराजित गर्दै पाथीभरा याङवरक गाउँपालिका कञ्चनजंघा सेसेलुङ गोल्डकप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा पुग्ने यो दोस्रो गाउँपालिका हो । 

भानुजन माविको मैदानमा आइतबार भएको प्रतियोगिताको निर्धारित समयमा दुवैले समान एक/एक गोल गरेपछि छिनोफानो ट्राइबेकरमा पुग्नुपर्‍यो । ट्राइब्रेकरमा पाथीभरा याङवरकको तर्फबाट अम्बिका लावती, स्मारिका श्रेष्ठ र अनुपमा राईले लगातार गोल गरे । 

आठराई त्रिवेणीको तर्फबाट कुमारी शेर्पा र प्रिती गुरुङले हानेको गोल पाथीभरा याङवरककी गोल किपर सन्दिला राईले रोकिन् भने ओङमु शेर्पाको प्रहार पोष्टबाट बाहिरियो । जेनीसा लिम्बूले मात्रै गोल गर्न सफल भइन् । खेलको म्यान अफ द म्याच पाथीभराकी गोल किपर सन्दिला भइन् । उनले नगद दुई हजार प्राप्त गरिन् । 

यसअघि आठराई त्रिवेणीको तर्फबाट प्रिती गुरुङले पहिलो हाफको १५ औं मिनेटमा गोलको खाता खोलेकी थिइन् । त्यसको दुई मिनेटपछि नै १७ औं मिनेटमा अम्बिका लावतीले सेन्टरबाट सिधै गोल पोष्टमा हानेका फ्रिकिक गोलमा परिणत भयो र खेल बराबरीमा फर्कियो । 

ताप्लेजुङका नौ मध्ये आठ पालिकाको सहभागिता रहेको प्रतियोगिताको तेस्रो दिनको खेलमा सोमबार फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका आमनेसामने हुनेछन् । 

चासोक तङनाम २०८२ को अवसरमा पालिकास्तरीय महिला फुटबल प्रतियोगिता आयोजना गरिएको छ । २० गते फाइनल हुने प्रतियोगिताका विजेताले २ लाख २ हजार र उपविजेताले १ लाख २ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully