रामपुरस्थित भम्बक युनाइटेड यूथ क्लबले गर्न लागेको प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ।
पाल्पा — पाल्पाको रामपुर नगरपालिकाको भम्बक, रामपुरमा क्लब स्तरीय आमन्त्रित भलिबल प्रतियोगिता हुने भएको छ। रामपुरस्थित भम्बक युनाइटेड यूथ क्लबले दोस्रो पटक प्रतियोगिता आयोजना गरेको हो।
युवालाई खेलकुदप्रति आकर्षित गर्दै भलिबलको उत्थान एवं नयाँ खेलाडी प्रोत्साहन गर्न प्रतियोगिता सञ्चालन गर्न लागिएको प्रतियोगिता मंसिर २० गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा जिल्ला भलिबल संघ पाल्पा, सशस्त्र प्रहरी बल (एपिएफ) कास्की पोखरा, आयोजक भम्बक युनाइटेड यूथ क्लब, जिल्ला भलिबल संघ नवलपुर, होराइजन भलिबल क्लब रूपन्देही, मणिमुकुन्द भलिबल क्लब रूपन्देही, जिल्ला भलिबल संघ स्याङ्जाको सहभागिता हुने खेल संयोजक अनुप मल्लले जानकारी दिए।
रामपुर नगरपालिकाको संरक्षणमा भम्बक युनाइटेड यूथ क्लबले आयोजना गरेको प्रतियोगितामा पहिलो हुनेले नगद २ लाख पुरस्कार पाउनेछ। दोस्रो हुनेले १ लाख, तेस्रो हुनेले ५० हजार र सान्त्वनालाई ३० हजार नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीलाई नगद १० हजार पाउनेछ।
उत्कृष्ट स्पाइकर, लिब्रो, सेटर, सर्भर, मिड ब्लकरलाई ५–५ हजार नगद पुरस्कार व्यवस्था गरिएको क्लबका अध्यक्ष बालकृष्ण कुमालले बताए। प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलिसकेका तीन जना खेलाडीलाई सहभागिता गराइनेछ।
प्रतियोगिता आयोजना गर्न जिल्ला भलिबल संघको समन्वय, रामपुर उद्योग वाणिज्य संघ र नगर खेलकुद विकास समितिको सहकार्यमा सञ्चालन गरिएको हो।
