एसीसी यू-१९ प्रिमियर कप : नेपालले यूएईविरुद्ध फाइनल खेल्ने

ओपनिङ बलरद्वय नितेशकुमार पटेल र चन्दन रामले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि शनिबार नेपालले यूएईमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गरेको थियो ।

मंसिर १४, २०८२

कान्तिपुर संवाददाता

ACC U-19 Premier Cup: Nepal to play final against UAE

काठमाडौँ — नेपाली टोली एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । ओपनिङ बलरद्वय नितेशकुमार पटेल र चन्दन रामले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि शनिबार नेपालले यूएईमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गरेको थियो ।

नेपालले सोमबार हुने फाइनलमा घरेलु टोली यूएईको सामना गर्नेछ । यूएईले शनिबार नै भएको अर्को सेमिफाइनलमा ओमानलाई ८ विकेटले हरायो । साउदी अरेबिया र हङकङलाई पराजित गर्दै नेपाल समूह विजेता हुँदै सेमिफाइनल पुगेको हो । 

नेपालले टस जितेपछि ब्याटिङ निम्तो पाएको मलेसिया अजमानस्थित सेभेन ड्रिस्ट्रिक ग्राउन्ड–२ मा केवल १७.२ ओभर खेल्दै ५१ रनमै धराशायी भएको थियो । नितेशले ८ ओभरमा २ मेडन राख्दै २४ र चन्दनले ५ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ३ विकेट लिए । अपराजित पौडेल, कप्तान अशोक धामी र रोशन विश्वकर्माले १–१ विकेट लिए । 

मलेसियाबाट नवौं नम्बरमा ब्याटिङ गरेका मोहम्मद फाथुल मुइनले ११ र हम्जाह पाङ्गीले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेननन् । मलेसिया आठौं ओभरमा १३ रन बनाउँदा ७ विकेट गुमाइसकेको अवस्थामा यी दुईले इनिङ्स केही लम्ब्याएका थिए । 

नीरजकुमार यादव ४ रनमा आउट भए पनि नेपालले ८ ओभरभित्रै लक्ष्य पूरा गरेको हो । वंश क्षेत्री १७ बलमा ७ र निश्चल क्षेत्री १४ बलमा १० रन बनाई अविजित रहे ।

कान्तिपुर संवाददाता

Link copied successfully