रोसिङटन र निसमको अर्धशतकमा पोखराद्वारा लुम्बिनीलाई राम्रो चुनौती

टस हारेर पहिला ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाई १५० रन बनाउँदै लुम्बिनीलाई जितका लागि कठिन लक्ष्य दिएको छ ।

मंसिर १३, २०८२

कान्तिपुर संवाददाता

Pokhara gives Lumbini a good challenge with Rossington and Nisham scoring half-centuries

What you should know

काठमाडौँ — एडम रोसिङटन र जिमी निसमको सानदार ब्याटिङमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्सलाई १ सय ५१ रनको लक्ष्य दिएको छ ।

रोसिङटन र निसमको अर्धशतकमा टस हारेपछि ब्याटिङमा आएको पोखराले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेली ५ विकेट गुमाई १ सय ५० रन बनाएको हो ।

८ ओभरमा ३३ रन बनाउँदा ४ विकेट गुमाइसकेको अवस्थामा रोसिङटन र निसमले पाँचौँ विकेटमा ६२ बलमा ९२ रनको साझेदारी गरे । रोसिङटनले ६३ बल खेली ७ चौका र ५ छक्का प्रहार गरी ८१ रन बनाए । तिलकराज भण्डारीले उनलाई १९ औँ ओभरमा आउट गरे ।

निसम ५१ रन बनाई अविजित रहे । उनले ३२ बल खेली समान ३ चौका र छक्का प्रहार गरे । किरण ठगुन्ना २ बल खेली १ रनमा अविजित रहे । ओपनर दिनेश खरेल ७ रन बनाई आउट भएका थिए । कप्तान कुशल भुर्तेल लगातार दोस्रो बलमा डक आउट भए ।

सुमित बर्मा पनि ५ बल खेली शून्यमै आउट भए । तृतराज दासले १ रनमात्रै जोड्न सके । लुम्बिनीबाट शेरले ४ ओभरमा २३ र तिलकले ४ ओभरमा २५ रन खर्चेर २–२ तथा गुलबदिन नैबले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।

लुम्बिनीले ४ मध्येको ३ खेलमा पराजित भइसकेको छ र टोलीले एक खेलमात्र जितेको छ । टोलीलाई प्लेअफमा पुग्न बाँकी रहेको तीनै खेल जित्नु पर्ने दबाब रहेको छ । पहिलो दुई खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित पोखराले अघिल्लो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो ।

लुम्बिनीका गुलबदिन नैब र पोखराका निसमको आज प्रतियोगितामा अन्तिम खेल हुने बताइएको छ । उनीहरू यूएईको आईएल टी २० खेल्न दुबई जाने तालिका रहेको छ ।

लुम्बिनीले श्रीलंकाबाट खेलिसकेका निरोशान डिकवेलालाई टोलीमा समावेश गरेर खेलाएको छ । ३२ वर्षे उनले श्रीलंकाबाट ५४ टेस्ट, ५५ एकदिवसीय अन्तर्राष्ट्रिय र २८ ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।

उनलाई थोमस ड्राकाको स्थानमा खेलाइएको छ । पोखराले भने दुई खेलाडी परिवर्तन गरेको छ । आकाश चन्द र ड्यान डाउथवेटको स्थानमा अभिषेक तिवारी र म्याट टेलरलाई खेलाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully