नेपाल एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा

अजमानमा भएको खेलमा नेपाली बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले सजिलै लक्ष्य भेटाउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ।

मंसिर १३, २०८२

कान्तिपुर संवाददाता

Nepal reaches ACC U-19 Premier Cup final

काठमाडौँ — एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । ओपनिङ बलरद्वय नितेशकुमार पटेल र चन्दन रामले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि नेपालले यूएईमा भइरहेको प्रतियोगितामा शनिबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्‍यो ।

नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको मलेसिया अजमान स्थित सेभेन ड्रिस्ट्रिक ग्राउन्ड २ मा केवल १७.२ ओभर खेली ५१ रनमा धराशायी भएको थियो । नितेशले ८ ओभरमा २ मेडन राख्दै २४ र चन्दनले ५ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ३ विकेट लिए । अपराजित पौडेल कप्तान अशोक धामी र रोशन विश्वकर्माले १–१ विकेट लिए ।

मलेसियाबाट नवौं नम्बरमा ब्याटिङ गरेका मोहम्मद फाथुल मुइनले ११ र हम्जाह पांगीले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । मलेसिया आठौँ ओभरमा १३ रन बनाउँदा ७ विकेट गुमाईसकेको अवस्थामा यी दुईले इनिङ्सलाई केही लम्बाएका थिए ।

निरजकुमार यादव ४ रनमा आउट भए पनि नेपालले ८ ओभर भित्रै ५५ रन बनाए । वंश क्षेत्री १७ बलमा ७ र निश्चल क्षेत्री १४ बलमा १० रन बनाई अविजित रहे ।

साउदी अरेबिया र हङकङलाई पराजित गर्दै नेपाल समूह विजेता भएर सेमिफाइनल पुगेको थियो । शनिबार नै भइरहेको यूएई र ओमानबीचको अर्को सेमिफाइनलको विजेतासँग नेपालले फाइनल खेल्ने छ । 

कान्तिपुर

Link copied successfully