भानुजन माविको मैदानमा शनिबार भएको उद्घाटन खेलमा मैवाखोलाले सिरिजंगा गाउँपालिकाविरुद्ध २–० गोलको जित निकालेको हो ।
What you should know
ताप्लेजुङ — चासोक तङनामको अवसरमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा सुरु भएको कञ्चनजंघा सेसेलुङ गोल्डकप महिला फुटबल प्रतियोगितामा मैवाखोला गाउँपालिकाले विजयी सुरुवात गरेको छ ।
भानुजन माविको मैदानमा शनिबार भएको उद्घाटन खेलमा मैवाखोलाले सिरिजंगा गाउँपालिकाविरुद्ध २–० गोलको जित निकालेको हो । दोस्रो हाफको ७१ औं मिनेटमा क्रसबार नजिकैबाट नानुमा लिम्बूले ड्रप हुँदै गरेको गोललाई सिधैं पोस्टमा हानेर जाली चुमाएकी थिइन् । उनी यो प्रतियोगिताको पहिलो गोल गर्ने खेलाडी पनि बनिन् । अतिरिक्त समयमा बिर्सना लिम्बूले दोस्रो गोल गरिन् र आफ्नो पालिकालाई सेमिफाइनलमा प्रवेश गराइन् । शनिबारको प्रतियोगिताको म्यान अफ द म्याच पनि उनै बिर्सना भइन् र नगद पाँच हजार पुरस्कार प्राप्त गरिन् ।
ताप्लेजुङका नौमध्ये आठ पालिकाको सहभागीता रहेको प्रतियोगिताको दोस्रो खेल आइतबार पाथीभरायाङवरक र आठराईत्रिवेणी गाउँपालिकाबीच हुनेछ । चासोक तङनामको अवसरमा आयोजित प्रतियोगितामा जिल्लाका नौमध्ये आठ पालिकाको सहभागिता रहेको छ । २० गते फाइनल हुने प्रतियोगिताका विजेताले २ लाख २ हजार र उपविजेताले १ लाख २ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले उद्धघाटन गरेको खेलमा आफ्नो पालिकाको हौसला बढाउन मैवाखोला गाउँपालिका अध्यक्ष विजय वनेम र सिरिजंगा गाउँपालिका उपाध्यक्ष चित्र माबो मैदानमा पुगेका थिए । बाहिरका चार खेलाडी समावेश गराउन पाउने प्रतियोगितामा पालिकाहरुले पालिकाभित्रका उत्कृष्ट खेलाडी छानेर मैदान उतारेका छन् । आफ्नो पालिकाका विभागीय वा अन्य क्लबमा खेलिरहेकाहरुलाई प्रतियोगितामा समेटिएको छ । सेमिफाइनलदेखि भने प्रतिस्पर्धा हेरेर बाहिरका खेलाडी समावेश गर्ने तयारीमा पालिकाहरु रहेका छन् ।
