सिद्धार्थ क्रिकेट मैदानमा सुरु प्रतियोगिताको पहिलो खेलमा एभरेस्टले भैरहवाको मुनलाइट इंग्लिस बोर्डिङ स्कूललाई ४ विकेटले पराजित गरेको थियो ।
What you should know
भैरहवा — रुपन्देहीको भैरहवामा शुक्रबारबाट सुरु शेरबहादुर सेञ्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा बुटवलको एभरेस्ट स्कूलले विजयी सुरुवात गरेको छ ।
सिद्धार्थ क्रिकेट मैदानमा सुरु प्रतियोगिताको पहिलो खेलमा एभरेस्टले भैरहवाको मुनलाइट इंग्लिस बोर्डिङ स्कूललाई ४ विकेटले पराजित गरेको थियो ।
शुक्रबारको अर्को खेलमा न्यु मुन एकेडेमीले न्यु लाइट सेकेन्डरी स्कूललाई ८ विकेट अन्तरले पराजित गर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको न्यु लाइटले निर्धारित २० ओभर खेलमा १४ ओभर २ बलमा अलआउट हुँदै ६५ रन बनायो । उसका लागि गगन अर्यालले १४ र शुसल खरेलले १० रन बनाए । बलिङमा न्यू मुनका आशिष यादवले ४ र इमरान शेखले ३ विकेट हात पारे । जवाफमा न्यु मुनले ७ ओभर ३ बलमा २ विकेट गुमाएर ६६ रन बनाउँदै जित निकाल्यो । उसको जितमा आशिष यादवले नटआउट ३३ र श्रीधर न्यौपानेले १६ रन जोडे । बलिङमा न्यु लाइटका भुवन ज्ञवाली र गगन अर्यालले १–१ विकेट लिए । खेलमा आशिष यादव प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।
शुक्रबार बिहान टस जितेर ब्याटिङ गरेको मुनलाइटले ५ विकेटको क्षतिमा १ सय ३ रन बनायो । उसका लागि भानुबहादुर पाण्डेले २८, सुमन विष्टले नटआउट २४ र हर्षित शाहीले १९ रन जोडे । बलिङमा एभरेस्टका सौगात अर्याल र आदित्य देवकोटाले समान २–२ विकेट लिए । जवाफी ब्याटिङ गरेको एभरेस्टले १९ ओभर १ बलमा ६ विकेट गुमाएर १ सय ५ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सुशान्त गौतमले २० र पुरण न्यौपानेले नटआउट १४ रन बनाए । बलिङमा मुनलाइटका सुमन विष्ट र भानुबहादुर पाण्डेले २–२ विकेट लिए । खेलमा आदित्य देवकोटा प्लेयर अफ द म्याच भई पाँच सय प्राप्त गरे ।
प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै प्याव्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संघका संस्थापक अध्यक्ष प्रेमकुमार सेञ्चुरी, सल्लाहकार महेश भूर्तेल, सदस्य प्रथम पराजुली लगायतले बोल्दै क्रिकेटले नेपाललाई विश्वमाझ चिनाएको जनाए । उनीहरुले भोलिका राष्ट्रिय खेलाडी भनेकै विद्यालय तहबाट उत्पादन हुने भन्दै अनुशासित र लगनशील भएर खेल्न खेलाडीहरुलाई आग्रह गरे । विद्यालय तहका यस्ता प्रतियोगिताले नयाँ प्रतिभाहरु बाहिर ल्याउन सहयोग पुग्ने उनीहरुको भनाइ छ । रुपन्देही शिक्षासँगै पछिल्लो समय खेलकुदमा समेत हब बनेको उनीहरुकाले जनाए । विद्यालय तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा रुपन्देहीका ३० वटा विद्यालयको सहभागिता रहेको खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए ।
