नेपाल मलेसियासँग सेमिफाइनल खेल्ने

टस जितेर ब्याटिङ रोजेको नेपालले हङकङ अजमानस्थित सेभेन ड्रिस्ट्रिक मैदान २ मा निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ७० रन बनाएको हो । जवाफमा आएको हङकङ ४०.५ ओभरमा १ सय ५१ रनमा अलआउट भयो ।

मंसिर १२, २०८२

कान्तिपुर संवाददाता

Nepal to play Malaysia in semi-finals

What you should know

काठमाडौँ — कप्तान अशोक धामी र दर्श सुनारको शतकीय साझेदारीको मद्दतमा नेपाल एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । यूएईमा भइरहेको प्रतियोगितामा नेपालले बिहीबार हङकङलाई १ सय १९ रनले पराजित गर्‍यो ।

टस जितेर ब्याटिङ रोजेको नेपालले हङकङ अजमानस्थित सेभेन ड्रिस्ट्रिक मैदान २ मा निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ७० रन बनाएको हो । जवाफमा आएको हङकङ ४०.५ ओभरमा १ सय ५१ रनमा अलआउट भयो । 

नेपाल यस खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो । नेपालले सोमबार साउदी अरेबियालाई ८ विकेटले पराजित गरेको थियो । नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्ने छ । समूह ‘डी’ को विजेता बन्नेक्रममा मलेसियाले सिंगापुर, थाइल्यान्ड र इरानलाई हराएको थियो । अर्को सेमिफाइनल यूएई र ओमानबीच हुनेछ । दुवै सेमिफाइनल शनिबार हुनेछ । 

नेपालबाट अपराजित पौडेलले ४ र अशोकले ३ विकेट लिए । अपराजितले १० ओभरमा २ मेडन राख्दै ३१ र अशोकले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चे । दयानन्द मण्डल, सुशीलबहादुर रावल र रोशन विश्वकर्माले १–१ विकेट लिए । हङकङका कप्तान शिव माथुरले सर्वाधिक ३० रन बनाए । उनले २९ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । ओपनर जुड ली २६ बलमा ३ चौकासहित २२, रेयान्स शर्मा १८, अब्दुल समाद खान १९ र आरेज दारले १५ रन बनाए । 

अशोक र दर्शको प्रयासमा नेपालले अन्तिम ५ ओभरमा ६८ रन जोडेको थियो । यी दुईले सातौं विकेटमा १ सय ८ रनको साझेदारी गरे । प्लेयर अफ द म्याच अशोक इनिङ्सको अन्तिम बलमा ७३ रन बनाई आउट भए । उनले ५१ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे । दर्श ५८ बलमा अविजित ४५ रन बनाए । उनले ३ चौका प्रहार गरे । ओपनरद्वय नीरजकुमार यादव २२ र वंश क्षेत्री २४ रनमा आउट भए । नीरजले २० बल खेल्दै ३ चौका र वंशले ३४ बल खेल्दै२ चौका प्रहार गरे । निश्चल क्षेत्री ३ रनमै आउट भए । 

सिब्रिन श्रेष्ठले ५९ बल खेल्दै १ चौकासहित २५ रन बनाए । दिलसाद अलीले ५० बल खेल्दै ३२ रन जोडे । रोहन विश्वकर्मा २१ बलमा २ चौका र १ छक्कासहित २२ रनमा आउट भएपछि अशोक र दर्शको जोडीले जमेर ब्याटिङ गरे । हङकङका अभिमन्यू गणेशन र डानियल मापले २–२ विकेट लिए ।

कान्तिपुर संवाददाता

Link copied successfully