२०७८ साल मंसिर १३ गते नियुक्त भएका सदस्य–सचिव घिसिङ चार वर्षे कार्यकाल पूरा गरेर शुक्रबार परिषद्बाट बिदाइ भएका थिए ।
What you should know
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ भेटवार्ता गरेका छन् ।
२०७८ साल मंसिर १३ गते नियुक्त भएका सदस्य–सचिव घिसिङ चार वर्षे कार्यकाल पूरा गरेर शुक्रबार परिषद्बाट बिदाइ भएका थिए ।
परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री कार्कीले घिसिङले आफ्नो कार्यकालमा नेपाली खेलकुदमा दिनुभएको योगदानप्रति सराहना व्यक्त गरेकी थिइन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मुख्य सचिव सुमनराज अर्याललगायतको उपस्थिति रहेको थियो ।
त्यसअघि परिषद् कभर्डहलमा सदस्यसचिवको बिदाइ कार्यक्रम गरिएको थियो । सदस्यसचिवसँगै राखेपका बोर्ड सदस्य अञ्जन धमला, बिना श्रेष्ठ, दीपेन्द्र विष्ट, जनक बर्तौला, मोहम्मद फाजिल र प्रकाशकुमार कुसारीलाई पनि बिदाइ गरिएको थियो ।
मिसन–२०२६ मा रहेका खेलाडी र प्रशिक्षकलाई पनि किट्स वितरण गरिएको थियो । सदस्य–सचिव घिसिङलाई राखेप कर्मचारी संघ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र राष्ट्रिय खेल संघलगायतले प्रशंसा पत्र प्रदान गरेका थिए । चार पटक ओलम्पिक खेलेका नेपालका एकमात्र खेलाडी वैकुण्ठ मानन्धरबाट हातबाट प्रशंसापत्र लिएर सदस्यसचिव बिदाइ भएका थिए ।
सदस्य–सचिव घिसिङले आफ्नो चार वर्षे कार्यकालमा अभूतपूर्व सफलता हासिल गर्न सहयोग गरेकोमा खेलाडी, प्रशिक्षक, कर्मचारी सबैलाई धन्यवाद दिए ।
युवा तथा खेलकुद मन्त्रालयले पनि शुक्रबारै सदस्य–सचिव घिसिङलाई बिदाइ गरेको थियो । राखेपका अध्यक्ष रहेका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र सचिव हरिप्रसाद लम्सालले घिसिङलाई मायाको चिनो प्रदान गरी बिदाइ गरे । सदस्य–सचिव घिसिङले आफ्नो चार वर्षे कार्यकालको प्रतिवेदन र राखेपबाट प्रकासित पुस्तकहरू हस्तान्तरण गरेका थिए ।
